Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षालाई प्राथमिकता दिदै जन्तेढुङ्गा गाउँपालिकाद्वारा ४४ करोड ३७ लाखको बजेट स्वीकृत

    शिक्षालाई प्राथमिकता दिदै जन्तेढुङ्गा गाउँपालिकाद्वारा ४४ करोड ३७ लाखको बजेट स्वीकृत


    • मंगलवार, आषाढ १० २०८२

    • नेपाल वाइड


    शिक्षालाई प्राथमिकता दिदै जन्तेढुङ्गा गाउँपालिकाद्वारा ४४ करोड ३७ लाखको बजेट स्वीकृत
    जन्तेढुङ्गा गाउँपालिकाको १७ औं गाउँसभामा पालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकिय अधिकृत विनय निरौला ।

    खोटाङ, १० असार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड ३७ लाख ३४ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । मङ्गलबार सम्पन्न १७ औं गाउँसभामा उपप्रमुख खेमबहादुर खड्काले आर्थिक विधेयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । जन्तेढुङ्गा गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै सबैभन्दा बढी तीन करोड ४२ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    शिक्षापछि दोस्रो प्राथमिकतामा रहेको वडागत कार्यक्रमका लागि दुई करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । स्वास्थ्य क्षेत्रका लागि ८० लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ जसले स्थानीयवासीको स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने अपेक्षा राखिएको छ ।

    कृषि विकासका लागि ४६ लाख ३० हजार रुपैयाँ र पशु विकासतर्फ ३५ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । गाँउपालिकाले दुवै क्षेत्रलाई गाउँपालिकाको आयआर्जन र रोजगारी सृजनाको लागि मुख्य आधार मानिएको छ । उपप्रमुख खड्काका अनुसार चालु खर्चतर्फ २८ करोड २० लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १६ करोड १६ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    बजेटको स्रोत अनुसार संघीय अनुदानबाट दुई करोड २९ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट एक करोड ४० लाख रुपैयाँ प्राप्त भएको छ। प्रदेश समपूरकबाट एक करोड २५ लाख रुपैयाँ, संघीय सशर्त अनुदानबाट १९ करोड ४४ लाख रुपैयाँ र प्रदेश सशर्त अनुदानबाट ८० लाख २५ हजार रुपैयाँ प्राप्त भएको उपप्रमुख खड्काले जानकारी दिए ।

    कृषि र पशुपालनमा व्यावसायिकरणको नीति

    दुई दिनसम्म चलेको गाउँसभामा सोमबार गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष राईले गाउँपालिकाको आयआर्जन र रोजगारी सृजनाका लागि कृषि र पशुपालनलाई मुख्य आधार मान्दै यी क्षेत्रलाई निर्वाहमुखीबाट व्यावसायिकरणतर्फ उन्मुख गराउने नीतिलाई निरन्तरता दिइने बताईन् ।

    यस नीतिअन्तर्गत कृषकहरूलाई आधुनिक प्रविधि, गुणस्तरीय बीउ बिजन र बजार पहुँचमा सहयोग पुर्याइने छ । पशुपालन क्षेत्रमा पनि नस्ल सुधार, दाना र चारोको व्यवस्था तथा पशुजन्य उत्पादनको मूल्य संवर्धनमा जोड दिइनेछ ।

    शिक्षालाई प्राथमिकता दिँदै मानव संसाधन विकासमा जोड दिने साथै कृषि तथा पशुपालनको व्यावसायिकरणमार्फत आर्थिक समृद्धि ल्याउने रणनीति अपनाइएको छ । स्वास्थ्य सेवाको विस्तार र वडागत कार्यक्रमहरूमार्फत जनताको दैनिक जीवनमा सुधार ल्याउने उद्देश्य राखिएको छ । उक्त बजेट र नीति कार्यक्रम गाउँसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

    सम्बन्धित समाचार