Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाद्धारा ८० करोडको बजेट सार्वजनिक

    हलेसी तुवाचुङ नगरपालिकाद्धारा ८० करोडको बजेट सार्वजनिक


    • सोमवार, आषाढ ९ २०८२

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाद्धारा ८० करोडको बजेट सार्वजनिक
    हलेसी तुवाचुङ नगरपालिकाले सोमबार सम्पन्न १७ औं नगरसभा ।

    खोटाङ, ९ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ८० करोड १८ लाख ८१ हजार ७१९ को बजेट सार्वजनिक गरेको छ । होलेसुङ रिसोर्ट दुर्छिममा सोमबार सम्पन्न १७ औं नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा वार्षिक कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाको बजेटमा विभिन्न स्रोतबाट आम्दानी जुटाउने व्यवस्था मिलाइएको छ ।

    संघीय सरकारको राजस्व बाँडफाँडबाट रु ११ करोड २९ लाख १८ हजार ७१९, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु एक करोड छ लाख ९२ हजार, संघीय सरकारको वित्तीय समानीकरणबाट रु ११ करोड १६ लाख र प्रदेश सरकारको वित्तीय समानीकरणबाट रु ९९ लाख ९२ हजार प्राप्त हुने उपप्रमुख राउतले सभामा जानकारी दिए ।

    स्थानीय आम्दानीका हिसाबले नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट रु दश लाख बजेट आउने अनुमान गरिएको छ । बजेटको ठूलो हिस्सा विभिन्न अनुदानबाट आउने व्यवस्था मिलाइएको छ । संघीय सरकारको सशर्त अनुदानबाट रु ३४ करोड ७६ लाख, विशेष अनुदानबाट रु ६९ लाख, समपूरक अनुदानबाट रु ७५ लाख प्राप्त हुनेछ ।

    त्यसैगरी प्रदेश सरकारको समपूरक अनुदानबाट रु एक करोड ४० लाख, सशर्त अनुदानबाट रु एक करोड ५१ लाख ७९ हजार र सामाजिक सुरक्षा तथा संरक्षणबाट रु १५ करोड बजेट प्राप्त हुने जनाइएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि तीन मुख्य क्षेत्रमा बजेट विनियोजन गरेको छ । चालू खर्चतर्फ रु ४६ करोड १५ लाख २९ हजार, पूंजीगत खर्चतर्फ रु १९ करोड तीन लाख ५२ हजार ७१९ र सामाजिक सुरक्षातर्फ रु १५ करोड बजेट छुट्याइएको छ । 

    विशेष गरी पूर्वाधार विकासमा नगरपालिकाले विशेष प्राथमिकता दिएको देखिन्छ । नगर प्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार भौतिक पूर्वाधार बाहेक पानी, पर्यटन र अन्य पूर्वाधार विकासमा मात्रै छ करोड ४७ लाख ९४ हजार ११९ बजेट विनियोजन गरिएको छ । नगरसभामा नगरप्रमुख विमला राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । मेयर राईले प्रस्तुत गरेको नीति र कार्यक्रममा नगरपालिकाको समग्र विकासका लागि आवश्यक दिशानिर्देशहरू समावेश गरिएको छ ।

    सम्बन्धित समाचार