बुधवार, जेठ १४ २०८२
नेपाल वाइड
खोटाङ, १४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । नगरपालिकाभित्रका तीन हजार भन्दा बढी बालबालिकाले पूर्णखोप लगाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।
नगरपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ७६९ जना बालबालिकाले नियमित खोप लगाएका छन् भने १६ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई हजार १०१ जना बालबालिकाले पूर्णखोप लगाएको पाइएको छ ।
नगरपालिकाको सभाहलमा बुधबार आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले औपचारिक उद्घघाटन गरे । समारोहमा नियमित खोप लगाउने वडा नं. १० पाथेकाका जेनिस विश्वकर्मालाई पूर्णखोप लगाएको खोपकार्ड तथा सम्मानपत्र प्रदान गरिएको छ ।
नगर खोप समन्वय समितिका अध्यक्ष एवम् नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख तामाङले नगरपालिकाभित्रका १५ वटै वडा कार्यालयलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभामा प्रमुख अतिथिका रुपमा बोल्नुहुदै उपप्रमुख तामाङले बालबालिकाको स्वास्थ्यमा सरकारले ठूलो लगानी गरेको भन्दै यस कार्यक्रम सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

पूर्णखोप सुनिश्चितताका लागि सर्वेक्षण गर्दा विभिन्न वडाका पाँचजना बालबालिकाले शुरुमा खोप लगाएपनि बीचमा छुटाएको पाइएको थियो । उनीहरूलाई पनि छुटेका सबै खोप उपलब्ध गराइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह यस नगरपालिकामा ४५ वटा खोप केन्द्र निर्धारण गरेर नियमित खोप उपलब्ध गराउने गरिएको छ ।
चालु आर्थिक वर्ष सञ्चालन गरिएको पाठेघरको क्यान्सरविरुद्धको एच.पि.भि. खोप अभियानमा नगरपालिकाभित्रका दुई हजार ३१७ जना किशोरीलाई खोप उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिए ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिका यसअघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भइसकेका छन् भने यही जेठ–१६ गते दिप्रुङ चुइचुम्मा र जेठ–२६ गते खोटेहाङ गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणासभा राखिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफाइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसले बालबालिकाको मृत्युदर घटाउन र स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
’स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराकासहित आगामी असार–१५ गतेभित्र पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।
