Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङ जिल्ला अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गर्ने निर्णय

    खोटाङ जिल्ला अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गर्ने निर्णय


    • मंगलवार, जेठ १३ २०८२

    • नेपाल वाइड


    खोटाङ जिल्ला अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गर्ने निर्णय
    जिल्ला अस्पताल खोटाङ ।

    खोटाङ, १३ जेठ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । गत जेठ १२ गते बसेको प्रदेश सरकारको बैठकले अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

    विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पताल खोटाङ मात्र १५ शैयाको सीमित क्षमतामा सञ्चालन हुँदै आएको छ । अस्पताल हाल आठौं तहको विशेषज्ञ डाक्टरसहित कुल ३० जना स्वास्थ्यकर्मीको दरबन्दीमा सञ्चालन भइरहेको छ । तर बढ्दो जनसंख्या र स्वास्थ्य सेवाको बढ्दो मागको तुलनामा यो क्षमता अपर्याप्त र गुणस्तरीय सेवा अभावमा संञ्चालन भईरहेको छ ।

    जिल्लामा आवश्यक भौतिक पूर्वाधार, विशेषज्ञ स्वास्थ्यकर्मी र उपकरणको अभावका कारण सामान्य किसिमका बिरामीले समेत सुविधासम्पन्न अस्पताल खोज्नुपर्ने जिल्लाबासीको बाध्यता रहेको छ । करिब तीन दशकपछि १५ शैयाबाट ५० शैयामा स्तरोउन्नति हुदै गरेको जिल्ला अस्पतालमा अब ११ औं तहको विशेषज्ञ डाक्टरसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम हुनेछ ।

    यसले अस्पतालमा विशेषज्ञ चिकित्सकको उपलब्धता बढाउने र बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ । स्वास्थ्यमन्त्री राईले गत वैशाख १ गते मन्त्रिपरिषदमा जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नति गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्रिपरिषदबाट अनुमोदन भएको उक्त निर्णयले अस्पतालको भौतिक संरचना मात्र नभएर मानव संसाधन र सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने छ ।

    मन्त्री राईले जिल्ला अस्पताल स्तरोन्नतिले खोटाङवासीको स्वास्थ्य जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै भने, “अब उपचार नपाएर खोटाङवासीले अकालमा मर्नुपर्ने बाध्यता आउँदैन । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पताल पठाएर खोटाङवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने बाटो खुलेको छ ।”

    अस्पताल स्तरोन्नतिका लागि ५० शैयाको निर्माणाधीन भवनको काम करिब अन्तिम चरणमा पुगेको जनाइएको छ । संघीय सरकारको निर्णयअनुसार सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गामार्फत भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले जिल्ला अस्पताल खोटाङको भवन निर्माणको ठेक्का लिएको छ । अस्पताल स्तरोन्नतिको निर्णयले जिल्लाबासीमा खुशीको संञ्चार भएको छ । सामान्य रोगको उपचारका लागि टाढाका ठूला अस्पतालमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरेका छन् ।

    सम्बन्धित समाचार