शनिवार, जेठ १० २०८२
नेपाल वाइड
खोटाङ, १० जेठ । खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा अवस्थित सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याईएको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले रिबन काटेर उक्त पुलको उद्घाटन गरेसँगै शनिबारदेखि औपचारिकरुपमा पुल संञ्चालनमा ल्याईएको हो ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सशर्त अनुदान अन्तर्गत आठ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त पुल खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको सिमानामा रहेको सावाखोलाको भानुमति घाटमा अवस्थित छ ।

४१ दशमलव ४० मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाइको पुलमा दुबैतर्फ १ दशमलव २० मिटरको फुटपाथसमेत निर्माण गरिएको छ । लामो समयदेखि सावाखोलामा पक्की पुलको अभावमा खोटाङबजार–चिसापानी सडकखण्डमा यातायात अवरुद्धको समस्या भोग्दै आएकाहरुका लागि आवातजातवमा सहज भएको छ ।
विशेषगरी हिउँदको समयमा करिब छ महिनामात्र यातायातका सवारी साधन सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा अब बाह्रै महिना यातायात सेवा उपलब्ध गराउने तयारी भएको यातायात व्यवसायीहरुले जनाएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खोटाङको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विकासका कामहरुलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताए ।
उहाँले सावाखोलाको पुल सम्पन्न गरेर सञ्चालनमा ल्याएको, बुँवाखोलाको पुल द्रुत गतिमा निर्माण भइरहेको र सुनकोशीस्थित बङ्शिला घाटको पक्की पुल पनि समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइरहेको जानकारी दिए ।
मन्त्री राईले सुनकोशीको बङ्शिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण भएपछि खोटाङवासीको दुःखका दिनहरु सकिने र समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गरे । उहाँले दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अवरुद्ध बनेको पूर्वी तराईसँगको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारदेखि धाप्लाङघाटसम्मको नयाँ सडक निर्माण शुरु गरिएको जानकारी समेत दिए ।

सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएसँगै खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई बेलटार हुँदै तराई जान र जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई सदरमुकाम दिक्तेल र इलाका प्रशासन कार्यालय खोटाङबजार आउने–जाने कार्यमा सहजता आएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए ।
सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुर नामक निर्माण कम्पनीले यो पुल निर्माण गरेको हो । विसं २०८० वैशाख ११ गते निर्माण कम्पनीले सडक विभागसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेर निर्माणको काम शुरु गरेको थियो । निर्माण कम्पनीले समयमै पुल निर्माणको काम सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि शनिबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।
प्रदेश सरकारले निर्माण कम्पनीलाई भुक्तानी समेत गरिसकेको जनाइएको छ । नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईले खोटाङको विकास निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न सबै जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूलाई आव्हान गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सम्बन्धित मन्त्रालयका सचिव तथा इन्जिनियर र स्थानीयवासीहरुको व्यापक सहभागिता रहेको थियो । सावाखोलाको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दाहरुको लामो समयको आकांक्षा पूरा भएको छ । यस मोटरेबल पुलले यातायातमा सहजता ल्याउनुका साथै स्थानीय अर्थतन्त्रको विकासमा समेत उतिकै योगदान पुर्याउने छ ।