शुक्रवार, जेठ ९ २०८२
नेपाल वाइड
खोटाङ, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत वैशाख २१ गते बुझाएको नौँ बुँदे मागका विषयमा कुनै सुनुवाइ नभएको भन्दै पुनः स्मरणपत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै पार्टीले आफ्ना मागहरूको तत्काल कार्यान्वयनको माग गरेको हो ।
एकीकृत समाजवादी खोटाङले आफ्नो स्मरणपत्रमा देशमा विद्यमान दुई खाले शिक्षा प्रणालीको अन्त्य गर्न माग गरेको छ । पार्टीले उच्च शिक्षासम्म निःशुल्क तथा आधुनिक किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारसँग आग्रह गरेको छ ।
यस्तै, आवश्यक स्वास्थ्य उपकरण, पर्याप्त औषधि र जनशक्तिसहितको अस्पताल निर्माण गरेर जनताको पहुँचमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउन पनि माग गरिएको छ । पार्टीले भ्रष्टाचार, बेथिति र ढिलासुस्तीलाई नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ । यी समस्याहरूले देशको विकासमा बाधा पुर्याइरहेको भन्दै तत्काल समाधानको खोजी गर्न आग्रह गरिएको छ ।
स्मरणपत्रमा कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिन माग गरिएको छ । कृषि क्षेत्रमा लागेका व्यक्तिहरूलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिइएको छ । यसका अतिरिक्त पर्यटकीय क्षेत्रहरूको स्तरोन्नति गर्दै नेपाल भ्रमणका लागि आउने विदेशी पाहुनाहरूको सुरक्षाको ग्यारेन्टी गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।
पार्टीले पिछडिएका समुदायको हक र अधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । छुवाछुत, महिला हिंसा, भेदभाव, कुरीति र कुसंस्कारलगायत सबै प्रकारका विभेदको अन्त्य गर्ने नीति निर्माण गरेर कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ ।
जिल्ला उपाध्यक्ष झुलेन्द्र विश्वकर्माले हस्ताक्षर गरेको स्मरणपत्रमा सत्ता लिप्साभन्दा नेपाली जनताका आवश्यकता र मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ । स्मरणपत्रमा छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउँदै असमान सन्धि तथा सम्झौताहरूको पुनरावलोकन गर्न माग गरिएको छ ।
नेपाली उद्योगहरूको विकास गर्दै उद्योगीहरूलाई वित्तीय सुविधा प्रदान गर्न र राष्ट्र सम्पत्ति खर्चेर गरिने हरेक लगानीलाई उत्पादन र रोजगारीसँग जोड्न आग्रह गरिएको छ । साना घरेलु उद्योगलाई विशेष ध्यान दिन र राष्ट्रिय पूँजीको संरक्षण तथा उपयोग गर्दै देशलाई औद्योगीकरण गर्न सुझाव दिइएको छ ।
पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र लगायत देशमा प्राप्त उपलब्धिहरू खारेज गराउन विभिन्न निकायबाट लोकतन्त्रमाथि प्रहार भइरहेकोप्रति प्रधानमन्त्री ओलीलाई सचेत गराएको छ । विद्यमान समस्याहरूको समाधानका लागि गोलमेज सम्मेलनको आवश्यकता रहेको पनि जनाइएको छ ।
स्मरणपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी सागर साहले सम्बन्धित निकायमा पठाएर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केन्द्रीय सदस्य एवं पूर्व सांसद कुलप्रसाद फुयाल, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबि चाम्लिङ र जिल्लास्थित पार्टीका पदाधिकारीहरूले स्मरणपत्र बुझाएका थिए ।