बुधवार, जेठ ७ २०८२
नेपाल वाइड
खोटाङ, ७ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिहरूले आफ्नो तीन वर्षे कार्यकालमा हासिल गरेका मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ । मंगलबार हलेसीस्थित होलेसुङ रिसोर्टमा आयोजित एक विशेष कार्यक्रममा भिडियो प्रतिवेदनमार्फत उपलब्धिहरू सार्वजनिक गरेको हो ।
बेरुजु फछ्र्योटमा उल्लेखनीय प्रगति हासिल गरेको नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखी तीन वर्षको अवधिमा ९२ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । यसमध्ये २५०० मिटर ढलान र ५१२ किलोमिटर सडक स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याइएको छ ।
११ वडामध्ये आठवटामा पक्की भवन निर्माण सम्पन्न भएको छ भने तीनवटा वडामा निर्माणाधीन अवस्थामा रहेका छन् । खानेपानी र सिँचाइको क्षेत्रमा पनि उल्लेख्य उपलब्धि हासिल गरिएको नगरपालिकाले जनाएको छ ।
लोचाखोला, सहरबोटे मुहान, जुकेखोला लिफ्टिङ जस्ता खानेपानी आयोजनाहरू सञ्चालनमा आएका छन् भने बृहत् हलेसी लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेको छ । सिँचाइ तथा रिचार्जका लागि नगरपालिकाभित्र २३० वटा पोखरी निर्माण गरिएको छ । साथै घोपाटार माझीगाउँ सिँचाइ, दूधकोशी–हात्तीटार लिफ्ट सिँचाइ, टिमुरे लिफ्ट सिँचाइ, कुर्ले–रुपाटार सिँचाइ लगायत २१ वटा सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको छ ।
शिक्षा क्षेत्रमा नगरपालिकाले ९० वटा सामुदायिक तथा निजी विद्यालयमध्ये २६ वटामा नयाँ आरसिसी भवन निर्माण सम्पन्न गरेको छ । यसकासाथै बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पूर्णरूपमा निःशुल्क शिक्षा लागू गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पाँच शैयाको नगर आधारभूत अस्पताल सञ्चालन, ११ वटै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा प्रवाह, नगर आधारभूत अस्पतालमा चौबीसघण्टे सेवा, गरिब, दलित र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा लगायतका उपलब्धि हासिल गरिएको छ । संघीय सरकारको अनुदानमा निर्माण शुरु भएको १५ शैयाको नगर आधारभूत अस्पताल पनि तीव्रगतिमा निर्माण भइरहेको छ ।
नगरप्रवक्ता कमल गिरीका अनुसार, जीविकोपार्जन सुधारका लागि कृषकहरूलाई १०० भैंसी, बाख्रा तथा सुँगुरको पाठा वितरण गरिएको छ । साथै सुन्तला, तरकारी, केरा र लिची पकेट क्षेत्र घोषणा गरी प्रवर्द्धनको कार्य अगाडि बढाइएको छ । ढाका कपडा तथा दुनाटपरी उद्योग, कृषि मार्ट सञ्चालन, रैथानेबाली प्रवर्द्धन, उद्यम गर्न चाहनेका लागि ब्याज अनुदान लगायतका कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ ।
पर्यटन प्रवर्द्धनका लागि हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम, बुङालुङ पार्क, मञ्जुश्री गुफा, सल्लेपोखरी, भुम्जुडाँडा लगायत २६ वटा धार्मिकस्थलको स्तरोन्नति गरिएको छ । त्यसैगरी होमस्टे सञ्चालन र पर्यटक गाइड उत्पादन जस्ता कार्यहरू पनि गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बालिका बचत, स्वास्थ्य बीमा, र विभिन्न जातजातिका लागि १४ वटा सामुदायिक भवन निर्माण गरिएको छ । सुशासनको क्षेत्रमा नगरपालिकाले आफ्नै नीति बनाएर अधिकांश मुद्दामा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्दै आएको छ । न्यायिक समितिका संयोजक एवम् नगरउपप्रमुख रमेश राउतका अनुसार, “जघन्य किसिमका बाहेक अधिकांश मुद्दा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्ने अभ्यास गरिएको छ । यसमा दुवै पक्षको जित भएको महसुस हुन्छ । सुशासनको पक्षमा कसैले औँला उठाउने ठाउँ राखेका छैनौँ । पीडित र पीडक दुवै सन्तुष्ट छन् ।” नगरप्रमुख विमला राईले आफूहरू निर्वाचित भएर आएको तीनवर्षे कार्यकालमा नगरवासीको आधारभूत आवश्यकताहरू पूरा गर्न सफल भएको बताइन् ।
“हामीले निर्वाचनका घोषणापत्र बमोजिम काम गरिरहेका छौँ । मुख्यगरी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनगरी पाँचवटा विषयलाई पहिलो प्राथमिकतामा राखेर सुधार गर्ने योजना बनाएका थियौँ । जसमा अधिकांश योजना पूरा भइसकेका छन् । अबको एउटै लक्ष्य भनेको पर्यटन विकास हुनेछ । यसका लागि नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरूको स्तरोन्नति गरिसकेका छौँ । अब यसलाई प्रवद्र्धन गरेर आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ,” प्रमुख राईले भनिन् ।
यसैबीच, नगरको उपलब्धि सार्वजनिक कार्यक्रममा १० बुँदे ‘सार्वजनिक शिक्षा सवलीकरण घोषणा पत्र’ जारी गरिएको छ । “सक्षम शिक्षक, स्तरीय शिक्षा परिष्कृत संस्कार, सार्वजनिक शिक्षा सवलीकरण हलेसी विकासको आधार” भन्ने नारासहित १० बुँदे ‘सार्वजनिक शिक्षा सवलीकरण घोषणा पत्र’ जारी गरिएको हो ।
सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक गुणस्तरलाई उकास्न जारी गरिएको घोषणा पत्रमा विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक कर्मचारीको कार्यक्षमता तथा दक्षतालाई प्रवर्द्धन गर्न नगरपालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा प्रधानाध्यापक र कर्मचारीबीच कार्य सम्पादन करार सम्झौता गर्ने र विद्यालयमा कार्यरत सबैको कार्य विवरण सबैले देख्ने ठाउँमा राख्ने उल्लेख छ ।
यसका साथै घोषणा पत्रमा सामुदायिक विद्यालय शिक्षा सुधारको नैतिक धरातल बलियो बनाउनका लागि सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले ‘मेरो विद्यालय म आफै बनाउँछु मेरा सन्तान मेरै कार्यक्षेत्र रहेको सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने, शिक्षालाई सीप, संस्कार र प्रविधिसँग जोड्दै सामुदायिक विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने, आवश्यकताका आधारमा कक्षा घटाउने तथा विद्यालय मर्ज गरी आवासीय विद्यालय सञ्चालनमा जोड दिने विषय समावेश गरिएको छ ।
यस घोषणा पत्रमा शिक्षक अभावको परिपूर्तिका लागि शिक्षक बैंक स्थापना गरी कुनै किसिमबाट शिक्षकको अभाव भएमा शिक्षण अरुवद्ध नहुने नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने, दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन खपत हुने गरी विद्यालयमा नै दिवा खाजा खुवाउने व्यवस्था मिलाउने, प्रत्येक विद्यालयले शिक्षा सुधारको वार्षिक कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने, कक्षा ११ र १२ का विद्यार्थीलाई रैथाने सीप, कला र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक महिनाको अन्तिम शुक्रबार बुक फ्री डे कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउने तथा ‘गुणस्तरीय शिक्षा समृद्ध हलेसीः हामी सबैको जिम्मेवारी’लाई आत्मसाथ गर्नुपर्ने उल्लेख छ ।
घोषणा पत्र अक्षरस पालना र कार्यान्वयन गर्न प्रतिवद्धता जाहेर गरी नगरपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु, शिक्षकका विभिन्न पेशागत संघ संगठनका पदाधिकारीहरु, विव्यास अध्यक्षहरु, नगरभित्रका ९० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक शिक्षक, कर्मचारीले स्वेच्छाले सहिछाप गरेका छन् ।
शैक्षिक सुधारका लागि सम्मेलनको आयोजना गरिएको मेयर राईले बताए । शैक्षिक सम्मेलनको सहजीकरण उत्प्रेरक वक्ता रमन भट्टराई र शिक्षाविद् भुपेन्द्र कोइरालाले गरेका थिए ।
उपलब्धि सार्वजनिकीकरण तथा शैक्षिक सम्मेलन कार्यक्रमको औपचारिक उद्घघाटन जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, वुद्धिजीवि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

हलेसी तुवाचुङ नगरपालिकाद्वारा तीन वर्षे उपलब्धि सार्वजनिक तथा शैक्षिक सम्मेलनमा सहभागीहरु ।