Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महुरे–फोक्सिङटार सडकः ३१ वर्षपछि मन्त्री दाहालद्वारा शिलालेख अनावरण गरेर सडक कालोपत्रको काम औपचारिक रूपमा शुभारम्भ

    महुरे–फोक्सिङटार सडकः ३१ वर्षपछि मन्त्री दाहालद्वारा शिलालेख अनावरण गरेर सडक कालोपत्रको काम औपचारिक रूपमा शुभारम्भ


    • आइतवार, जेठ ४ २०८२

    • नेपाल वाइड


    महुरे–फोक्सिङटार सडकः ३१ वर्षपछि मन्त्री दाहालद्वारा शिलालेख अनावरण गरेर सडक कालोपत्रको काम औपचारिक रूपमा शुभारम्भ
    महुरे–फोक्सिङटार सडक कालोपत्रको काम औपचारिक रूपमा शुभारम्भ गर्नुहुदै नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल ।

    खोटाङ, ४ जेठ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको काम औपचारिक रूपमा शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले विसं २०५१ सालमा शिलान्यास गरेको यस सडकमा आइतबार मन्त्री दाहालले शिलालेख अनावरण गर्दै कालोपत्र कार्यको औपचारिक शुरुवात गरेका हुन् ।

    दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले कुल ८६ करोड रुपैयाँ बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए ।

    आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको जनाइएको छ ।

    दिव्यज्योति कन्ट्रक्सन प्रा.लि.ले ४२ करोड रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ चैत–१७ गते तथा रायमाझी कन्ट्रक्सन प्रा.लि.ले ४४ करोड रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ–२ गते सम्झौता गरेको जनाइएको छ । दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सडक आयोजना कार्यालयसँग सम्झौता गरेर कालोपत्रको काम थालिएको ठेकेदार कम्पनीहरूले जानकारी दिएका छन् ।

    फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम जिम्मेवारीपूर्वक समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

    “यो सडक तपाईहरूको व्यवसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईहरूले यो सडक कालोपत्रको काम समयमा सम्पन्न गर्नुहुनेछ। यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन ।’ उनले भने, “कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।” मन्त्री दाहालले सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल पुनः निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।

    गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनः निर्माणको काम सम्पन्न हुने बताए । फोक्सिङटार पुल खोटाङवासीको लाईफलाइनको रूपमा रहेकाले पनि पुल पुनः निर्माणमा मन्त्रालयको तर्फबाट कुनै कमीकमजोरी नहुने मन्त्री दाहालले प्रतिबद्धता जनाए ।

    “फोक्सिङटार पुलमा यस भेगका नागरिकको भविष्य जोडिएको छ । पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर पुनः निर्माणको काम अगाडि बढाएको छ, “उनले भने, “पुल बगाएपछि जनतामा नैराश्यता छाएको अवस्था छ । प्रकृतिसँग जुध्न सक्छौं तर, प्रकृतिलाई परास्त गर्न सक्दैनौँ। तसर्थ हामीले प्रकृतिसँग मिलेर काम गर्न पर्नुपर्छ । फोक्सिङटारको पुल प्राकृतिक, भौतिक र वातावरण सबै हिसाबले गहन अध्ययन गरेर निर्माण गर्छौँ ।”

    सडक कालोपत्रको काम शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, मन्त्रालयका सचिव तथा आयोजना कार्यालयका प्रमुखहरू, खोटाङस्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार