Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    रावाबेँसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा


    • बिहिवार, बैशाख १८ २०८२

    • नेपाल वाइड


    रावाबेँसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ र पालिका उपाध्यक्ष कोशिला गुरुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई ।

    खोटाङ, १८ बैखाख । खोटाङको रावाबेँसी गाउँपालिकालाई मंगलबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि यो घोषणा गरिएको हो ।

    छ वडा रहेको रावाबेँसी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएको छ ।

    नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

    कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षणलगायतका सम्पूर्ण प्रक्रिया पूरा गरिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

    जिल्ला स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर सुरेन्द्र बुढाथोकीले खोप कार्यक्रमका सूचकहरु उत्कृष्ट रहेको र आगामी दिनमा सेवालाई थप गुणस्तरीय बनाउन खोप केन्द्र भवन निर्माण र नियमित अनुगमन आवश्यक रहेको बताए ।

    कार्यक्रममा खोप अभियानमा खटिने स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकाहरुलाई समेत सम्मान गरिएको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने रावाबेँसी गाउँपालिका जिल्लाकै पहिलो भएको छ ।

    जन्तेढुङ्गा, खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाले पूर्ण खोप सुनिनिश्चतता तथा दिगोपना वडा घोषणा गरेर गाउँपालिका घोषणाका लागि पत्र पठाएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईका अनुसार आगामी जेठ–१५ गतेभित्र जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार