Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘द भ्वाईस अफ नेपाल’

    ‘द भ्वाईस अफ नेपाल’का फाइनलिस्ट रोशन राई भोटको अपिल गर्दै गृह जिल्ला खोटाङमा

    ‘द भ्वाईस अफ नेपाल’का फाइनलिस्ट रोशन राई भोटको अपिल गर्दै गृह जिल्ला खोटाङमा


    • बुधवार, बैशाख १७ २०८२

    • नेपाल वाइड


    ‘द भ्वाईस अफ नेपाल’का फाइनलिस्ट रोशन राई भोटको अपिल गर्दै गृह जिल्ला खोटाङमा
    ‘द भ्वाईस अफ नेपाल’ छैटौँ सिजनमा फाइनल राउण्डमा पुगेका प्रतियोगी रोशन राई ‘पालुवा स्टार’ भोटको अपिल गर्दै गृह जिल्ला खोटाङमा आयोजित सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै ।

    खोटाङ, १७ वैशाख । ‘द भ्वाईस अफ नेपाल’ छैटौँ सिजनमा फाइनल राउण्डमा पुगेका प्रतियोगी रोशन राई ‘पालुवा स्टार’ भोटको अपिल गर्दै गृह जिल्ला खोटाङ आइपुगेका छन् । उपाधि जित्ने दौडमा रहेका खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका प्रतिभाशाली गायक रोशनलाई बुधबार दिक्तेल बजारमा भव्य स्वागत गरिएको छ ।

    कोच मेलिना राईको टिमबाट फाइनलमा पुगेका रोशनलाई स्थानीयहरूले साँस्कृतिक झाँकीसहित स्वागत गरे । दिक्तेल बजारको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’ सहितको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन रोशन जिल्ला आईपुगेका हुन् ।

    रोशन र उनको टोलीलाई दिक्तेलस्थित किँरातचोकदेखि हाटडाँडा हुँदै त्रिवेणीचोकमा आयोजित कार्यक्रमस्थलसम्म विभिन्न र्‍यालीसहित स्वागत गरिएको थियो । पालुवास्टारको रूपमा परिचित रोशनले माउण्ट एभरेष्ट बोर्डिङमा कक्षा ३ देखि माध्यमिक तह (एसएलसी) सम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका थिए ।

    गायन प्रतिभामा अब्बल देखिएका कारण विद्यालयले उनलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो । कार्यक्रममा रोशनसँगै खोटाङकै गायिका मनिता राई र गायक तथा संगीतकार हसन राईलगायतले गायन प्रस्तुति दिए ।

    रोशनकी कोच गायिका मेलिना राई आउने भनिए पनि विशेष कारणले आउन नसकेको जनाइएको छ । कार्यक्रममा रोशनका लागि स्वेच्छिक आर्थिक सहयोग समेत जुटाइएको थियो ।

    Roshan Rai.jpg

    ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनमा रोशनलाई जिताउन माउण्ट एभरेष्ट बोर्डिङले मात्रै एक लाख भोट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक सगुन ताम्राकारले भने, “हाम्रो विद्यार्थी ’द भ्वाइस अफ नेपाल’को फाइनलिस्ट हुनु हाम्रा लागि गौरवको विषय हो । रोशनलाई उपाधि जिताउन सबैको सहयोग आवश्यक छ । बोर्डिङको तर्फबाट मात्रै एक लाख भोट उपलब्ध गराउने निर्णय गरेका छौँ ।” रोशनलाई जिताउने अभियानमा विद्यालयसहित जिल्लाका विभिन्न संघ–संस्था र व्यक्तिहरू जुटेका छन् ।

    भोट अपिलकै लागि बिहीबार उनको गृह पालिका दिप्रुङ चुइचुम्मा र छिमेकी साकेला गाउँपालिकामा समेत कार्यक्रम आयोजना गरिएको रोशन राई जिताउ अभियानका सहभागीहरूले जनाएका छन् । देशविदेशमा आफ्नो प्रस्तुति दिइसकेका रोशनका विभिन्न गीतहरू पहिले नै लोकप्रिय बनिसकेका छन् ।

    गायनसँगै संगीतमा समेत खुबी राख्ने रोशन ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनका बलिया प्रतिस्पर्धीमध्ये एक मानिन्छन् । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति प्रसारण हुने यस गायन रियालिटी शोको यही सिजनमा खोटाङकै इन्द्रकला राई पनि अघिल्लो चरणसम्म पुगेकी थिइन् ।

    एउटै जिल्ला र समुदायका दुई प्रतिस्पर्धी भएका कारण शुभचिन्तकहरूका भोट बाँडिएको थियो । तर कोच खेम सेन्चुरीको टिममा रहेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी इन्द्रकला बाहिरिएपछि रोशनलाई उपाधि चुम्न सहज हुने आँकलन गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’को ग्रान्ड फिनाले आगामी वैशाख १९ गते शुक्रबार हुँदैछ ।

    फाइनल राउण्डमा टिम मेलिनाबाट रोशन राई, टिम उदय सोताङबाट अर्पणा आचार्य, टिम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे र टिम राजु लामाबाट प्रमेश राई प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित समाचार