बुधवार, बैशाख १० २०८२
नेपाल वाइड
खोटाङ, १० बैशाख । शिक्षक आन्दोलनका कारण नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ प्रभावित बनेको छ । आगामी वैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव अब वैशाख २७ गतेदेखि जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।
शिक्षक आन्दोलनका कारण विद्यालयहरू बन्द भएकाले महोत्सवमा सहभागी हुने प्रमुख खेलाडीहरू प्रभावित हुने भएपछि कार्यक्रमको मिति परिवर्तन गरिएको अध्यक्ष राईले जानकारी दिए । “महोत्सवको प्रमुख उद्देश्य भनेको व्यवसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन्,” अध्यक्ष राईले स्पष्ट पारे । दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा विभिन्न प्रतियोगिताहरू आयोजना गरिने छ ।
यसमा एथलेटिक्स विद्याका खुला प्रतियोगिता, खुला महिला/पुरुष हाफ म्याराथन, खुला महिला\पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिताहरू समावेश छन् । आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनु, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनु, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउनु र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नु रहेको छ ।
विभिन्न उमेर समूहका प्रतिभागीहरूका लागि प्रतियोगिताहरू निर्धारित गरिएको छ। दश वर्षमुनिका बालबालिकाहरूका लागि एक माइल दौड, १२ वर्षमुनिका लागि दुई किलोमिटर, ६० वर्षमाथिका पुरुषका लागि दुई किलोमिटर र आमाहरूका लागि पाँच किलोमिटर दौड प्रतियोगिता हुनेछ ।
यसैगरी १२ देखि १५ वर्षमुनिका विद्यार्थीहरूका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीहरूको लागि पनि विशेष दौड प्रतियोगिता राखिएको छ । महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको २१ किलोमिटर खुला महिला\पुरुष हाफ म्याराथनमा प्रथम स्थान हासिल गर्नेले रु ७७,७७७, द्वितीय स्थान हासिल गर्नेले रु ५५,५५५ र तृतीय स्थान हासिल गर्नेले रु २५,५५५ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गर्नेलाई क्रमशः रु १५,५५५, रु ११,१११, रु ७,७७७ र रु ५,५५५ नगद पुरस्कार प्रदान गरिनेछ ।
खेलकुदका अतिरिक्त, महोत्सवको अन्तिम दिन साहित्यिक कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा गीत, गजल र कविता गायन तथा वाचन समावेश हुनेछन् । समापन समारोहमा साहित्यिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकी एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गरिने जानकारी दिइएको छ ।
महोत्सवको आयोजनाका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । सहआयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सुमन राईका अनुसार महोत्सवका लागि रु ३९ लाख ५५ हजार ८७ बजेट अनुमान गरिएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस र साहित्य महोत्सव आयोजना हुने जानकारी दिइएको छ ।