Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रपति पौडेलसहित उच्च पदस्थ व्यक्तिलाई खोटाङबाट बाँसका फर्निचर उपहार

    राष्ट्रपति पौडेलसहित उच्च पदस्थ व्यक्तिलाई खोटाङबाट बाँसका फर्निचर उपहार


    • शनिवार, चैत्र ९ २०८१

    • नेपाल वाइड


    राष्ट्रपति पौडेलसहित उच्च पदस्थ व्यक्तिलाई खोटाङबाट बाँसका फर्निचर उपहार
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ छ जना व्यक्तिलाई उपहार स्वरुप दिने तयारी गरिएको बाँसबाट निर्मित कुर्सी ।

    खोटाङ, ९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्च पदस्थ छ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ ।

    स्थानीय स्रोत तथा साधनको उपयोग प्रवद्र्धन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई यही महिना बाँसका फर्निचर उपहारस्वरूप पठाउन लागिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

    यसमध्ये कुर्सी शनिबार काठमाडौं पठाइसकिएको र टेबल केही दिनभित्र पठाइने जानकारी दिइएको छ । “बहुउपयोगी बाँस बिना उपयोग त्यत्तिकै खेर गइरहेका छन् । यसलाई उद्योगको रुपमा विकास गर्दै उपयोगमा ल्याउन सके खरबौँको आम्दानी गर्न सकिन्छ,” नगर प्रमुख भट्टराईले भने ।

    नगर प्रमुख र उपप्रमुख विशन राई स्वयंले पनि आफ्नो कार्यकक्षमा आयातित फर्निचरको सट्टा स्थानीय स्तरमा उत्पादित बाँसका फर्निचर प्रयोग गर्दै आएका छन् । नगरपालिकाले बाँस उद्योग प्रवद्र्धनका लागि स्थानीय उद्यमीलाई तालिम र सामग्री उपलब्ध गराउँदै आएको छ ।

    नगरपालिकाको क्षेत्रमा मलीबाँस, ढुङ्ग्रे र भालु बाँससहित १३ किसिमका बाँस पाइन्छन् । गत फागुन १५ देखि १७ गतेसम्म ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ समेत सम्पन्न गरेको नगरपालिकाले खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा विकास गर्न प्रतिबद्धता जनाएको छ ।

    तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ ।

    सम्बन्धित समाचार