Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक

    हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक


    • सोमवार, फाल्गुण २६ २०८१

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक
    हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक गरेको आधिकारिक लोगो

    खोटाङ, २६ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो आधिकारिक प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । त्रि–धार्मिक ऐतिहासिक स्थल एवं पुरातात्विक महत्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो ।

    नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेश राउतलगायतको उपस्थितिमा लोगो सार्वजनिक गरिएको हो ।

    नगरपालिकाले लोगो निर्माणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो, जसमा ७ वटा लोगो प्रस्तावहरू प्राप्त भएका थिए । प्राप्त प्रस्तावहरूमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका स्थानीय वासिन्दा सन्तोष दाहालले डिजाइन गरेको लोगो अन्तिम रूपमा छनोट गरिएको थियो । 

    लोगो सार्वजनिक गर्दै पूर्व अर्थ मन्त्री प्रकाश शरण मतह, प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, मेयर विमला राई, उपमेयर रमेश कुमार राउत लगायत Photo.jpg

    लोगो सार्वजनिक गर्दै पूर्व अर्थ मन्त्री प्रकाश शरण मतह, प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, मेयर विमला राई, उपमेयर रमेश कुमार राउत लगायत ।

    नगरपालिकाको १५ औं नगरसभाले उक्त लोगोलाई औपचारिक रूपमा स्वीकृत गरेको मेयर विमला राईले जानकारी दिइन् । मेयर राईका अनुसार, सार्वजनिक गरिएको लोगोमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको त्रि–धार्मिक स्थल हलेसीलगायत ऐतिहासिक धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्रहरू समावेश गरिएको छ ।

    यसका साथै, हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा अवस्थित भएकाले लोगोमा हिमालको दृश्य पनि समावेश गरिएको छ । नगरपालिकाको आधिकारिक प्रतीक चिन्ह सार्वजनिक गरिएसँगै स्थानीय सरकारको पहिचान र आधिकारिक कागजातहरूमा एकरूपता आउने विश्वास गरिएको छ । नगरपालिकाले औपचारिक रुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउने जनाईएको छ ।

    सम्बन्धित समाचार