Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मन्त्रीद्धारा यलम्बर बाजा बजाउँदै प्रथम राष्ट्रिय बाँस सम्मेलन उद्घाटन

    मन्त्रीद्धारा यलम्बर बाजा बजाउँदै प्रथम राष्ट्रिय बाँस सम्मेलन उद्घाटन

    “जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस”

    • बिहिवार, फाल्गुण १५ २०८१

    • नेपाल वाइड


    मन्त्रीद्धारा यलम्बर बाजा बजाउँदै प्रथम राष्ट्रिय बाँस सम्मेलन उद्घाटन
    यलम्बर बाजा बजाएर सम्मेलनको उद्धघाटन गर्दै संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलगायत अतिथिहरु ।

    खोटाङ, १५ फागुन । खोटाङको दिक्तेलबजारमा “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१” को औपचारिक उद्घाटन गरिएको छ । “जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने मूल नारासहित आयोजित सम्मेलनको संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यलम्बर बाजा बजाएर उद्घाटन गरेका हुन् ।

    दिक्तेलबजारस्थित माटिकोरे कभर्ड हलमा आयोजित उद्घाटन समारोहमा स्थानीय किरात समुदायको परम्परागत मौलिक बाजाको रुपमा परिचित यलम्बर बाजा प्रयोग गरिएको थियो, जुन बाँसबाटै निर्माण गरिने लोकबाजा हो ।

    सम्मेलनमा संघीय मन्त्रीहरु, विभिन्न प्रदेशका मन्त्रीहरु, सांसदहरु, कोशी प्रदेशका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न विश्वविद्यालयका प्राध्यापक एवं विशेषज्ञहरु, वन मन्त्रालयका विशिष्ट कर्मचारीहरु लगायतको उपस्थिति रहेको छ ।

    साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बाँस व्यवसायी लगायत विविध क्षेत्रका व्यक्तित्वहरुको पनि उल्लेखनीय सहभागिता रहेको मेयर तीर्थराज भट्टराईले जानकारी दिए ।

    आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला बाहिरबाट विज्ञहरुसहित करिब साढे तीन सयजनाको सहभागिता रहेको उल्लेख गरेको छ। सहभागीहरुको आवासको व्यवस्था होटल व्यवसायी संघ खोटाङसँगको समन्वयमा मिलाइएको छ ।

    सम्मेलनमा जिल्ला बाहिरबाट २८ र जिल्लाभित्रबाट ५२ भन्दा बढी स्टलहरु राखिएको छ, जहाँ विविध बाँसजन्य उत्पादन तथा प्रविधिहरु प्रदर्शनीमा राखिएका छन् ।

    फागुन १७ गतेसम्म चल्ने यस तीन दिवसीय सम्मेलनको मुख्य उद्देश्य बाँसको संरक्षण, व्यवस्थापन, दिगो उपयोग र उद्यमशीलता प्रवद्र्धन गर्दै प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गरी समृद्ध स्थानीय तह, प्रदेश र राष्ट्र निर्माणमा योगदान पुर्याउनु रहेको छ ।

    सम्मेलनको अवधिमा बाँसजन्य सामग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरणका साथै विज्ञहरुबाट विविध कार्यपत्रहरु प्रस्तुत गरिँदैछ । सम्मेलनमा बाँससँग सम्बन्धित ४४ जना विशिष्ट व्यक्तिहरुबाट कुल २३ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

    दिक्तेल नगरप्रमुख भट्टराईले यस सम्मेलनले केवल तीन दिने औपचारिक कार्यक्रमको रुपमा मात्र सीमित नरही राष्ट्रिय स्तरमै बाँससम्बन्धी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    उनका अनुसार सम्मेलनबाट दिक्तेल घोषणापत्र सार्वजनिक गरिने र सोही घोषणापत्रका आधारमा नेपालभर लागु हुने बाँससम्बन्धी नीति तयार हुनेछ । सम्मेलनको क्रममा यलम्बर बाजा, बाँसुरी, बिनायो लगायत विविध बाँसजन्य बाजाहरु बजाउने कार्यक्रम पनि समावेश गरिएको छ ।

    साथै बाँसको महत्व र उपयोगिता प्रवर्द्धन गर्न परम्परागत लिङ्गे पिङ खेल्ने, बाँसमाथि चढेर भाले झिक्ने प्रतियोगिता लगायत विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार