बिहिवार, फाल्गुण १ २०८१
नेपाल वाइड
खोटाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्ध कुनै समूह विशेषको स्वार्थमा नभई देश र जनताको मुक्तिका लागि गरिएको बताएका छन् ।
दिक्तेलमा आयोजित ‘३० औँ जनयुद्ध दिवस–२०८१’ कार्यक्रममा बोल्दै उनले जनयुद्धका उपलब्धिहरू ५० औं वर्षसम्म रहने दाबी गरे । जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजित कार्यक्रममा नेता पुनले जनयुद्धलाई इतिहासले स्वीकार गरिसकेको र यसैको जगमा संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरे ।
उनले समानताको मुद्दा संविधानमा नै लिपिबद्ध भएको स्मरण गराए । नेता पुनले नेपालमा जनवादी क्रान्तिको चरण सम्पन्न भएको र अब शान्तिपूर्ण समाजवादी क्रान्तिको आवश्यकता रहेको बताए ।
उनका अनुसार समाजवादी क्रान्तिमार्फत देशलाई निकास दिने योजना माओवादी केन्द्रसँग मात्रै छ । पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको दाबी गर्दै पुनले ‘छ महिना जनतासँग कार्यक्रम’ मार्फत हजारौं नेता तथा कार्यकर्ताहरू पार्टीमा आबद्ध हुने बताए ।
साथै नेकपा र एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको र २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने तयारीमा रहेको जानकारी दिए । सुशासनको विषयमा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध कारबाही थालेको तर काँग्रेस र एमालेका नेताहरू कारबाहीको दायरामा आउन थालेपछि सरकारबाट हटाइएको बताए । उनले वर्तमान सरकारले जनताको हित नगर्ने र नयाँ दलहरूसँग दर्शन र सिद्धान्त नभएको टिप्पणी गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रदेश सदस्य टंक थापा, प्रदेश सदस्य एवम् खोटेहाङ गाउँपालिका पार्टी सहइन्चार्ज इन्द्र नाराथुङ्गे लगायतले सम्बोधन गरेका थिए ।
दिवसको अवसरमा शहीद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ताहरूलाई सम्मान गरिएको छ । कार्यक्रमअघि दिक्तेल बजारमा र्याली निकालिएको थियो भने साँझ पार्टी कार्यालयमा दीपावली गरिएको छ ।