बिहिवार, फाल्गुण १ २०८१
नेपाल वाइड
खोटाङ, १ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पाँच कार्यकाल जिल्ला सभापति रहेका कुमारसिं बस्नेतलाई दोब्बर मतान्तरले पराजित गर्दै जोशीले नेतृत्व हात पारेका हुन् ।
नेपाली काँग्रेस खोटाङका जिल्ला सचिव समेत रहेका जोशीले ८१ मत प्राप्त गर्दा बस्नेतले ४० मतमा सीमित भएका छन् । जोशीले अघिल्लो अधिवेशनमा पनि बस्नेतलाई १२ मतले पराजित गरेका थिए ।
रेडक्रसको १२ औँ जिल्ला अधिवेशन अन्तर्गत माघ ३० गते साँझ सम्पन्न निर्वाचनमा महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन् ।
आचार्यले ७० मत र बस्नेतले ४५ मत प्राप्त गरे । मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा लीलाबहादुर खत्री, उपमन्त्रीमा कृष्णप्रसाद अधिकारी र उपकोषाध्यक्षमा अशोक आचार्य निर्वाचित भएका छन् ।
जिल्लाभरका १३८ मतदातामध्ये १२६ जनाले मतदान गरेको निर्वाचनमा तीन महिला सदस्यमा इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भएका छन् । सात खुला सदस्यका लागि भएको निर्वाचनमा गोपाल राई, पुस्विन खत्री, किशोर श्रेष्ठ, रामचन्द्र केसी, कर्णबहादुर बस्नेत, यामबहादुर निरौला र अर्जुनकुमार राउत निर्वाचित भएका छन् ।