Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हाइड्रोपावर कम्पनीविरुद्ध स्थानीय आन्दोलित

    हाइड्रोपावर कम्पनीविरुद्ध स्थानीय आन्दोलित


    • मंगलवार, माघ २९ २०८१

    • नेपाल वाइड


    हाइड्रोपावर कम्पनीविरुद्ध स्थानीय आन्दोलित
    जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिएको भन्दै निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण संघर्ष समितिले दिक्तेलमा आयोजित पत्रकार सम्मेलन ।

    खोटाङ, २९ माघ । खोटाङको केपिलासगढी गाउँपालिकामा सञ्चालित हाइड्रोपावर कम्पनीहरुले जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिएको भन्दै निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

    सोमबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक माइतीराज राईले रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले स्थानीय जग्गाधनीहरुलाई क्षतिपूर्ति नदिएको जानकारी दिए ।

    केपिलासगढी गाउँपालिकाको विभिन्न तीन स्थानमा हाइड्रोपावर सञ्चालन गर्नेक्रममा बैनास्वरुप केही रकम लिएको लामो समय बित्दा समेत बाँकी रकम नपाएको जग्गाधनीहरुको गुनासो छ ।

    क्षतिपूर्ति नपाएका जग्गाधनीहरुले रोविन राईको संयोजकत्वमा वडास्तरीय संघर्ष समिति समेत गठन गरेका छन् । विद्युत विकास विभागले निजी जग्गाहरु नियमअनुसार खरिद गरेर मात्र निर्माण कार्य अगाडि बढाउन दिएको निर्देशन समेत हाइड्रोपावर कम्पनीहरुले पालना नगरेको समितिको आरोप छ ।

    विशेषगरी हलेसी उर्जा प्राइभेट लिमिटेड कम्पनीले आठ जना व्यक्तिको निजी ४५ रोपनी तथा ३८४ रोपनी सरकारी जग्गा ओगटेको छ । स्थानीयबासीका अनुसार कम्पनीहरुले दश प्रतिशत पानी अनिवार्य खोलामा छाड्नुपर्ने प्रावधान पालना नगर्दा जलचर र पर्यावरणमा समेत नकारात्मक असर परेको छ ।

    यसैगरी रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेडले ट्रान्समिसन लाइन विस्तार गरिएको क्षेत्रका ६२ जना जग्गाधनीलाई क्षतिपूर्ति नदिएको आरोप छ । संघर्ष समितिले क्षतिपूर्ति नदिए विद्युत अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

    सम्बन्धित समाचार