Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    दिक्तेल बोर्डिङ स्कूलले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

    दिक्तेल बोर्डिङ स्कूलले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि


    • मंगलवार, माघ १५ २०८१

    • नेपाल वाइड


    दिक्तेल बोर्डिङ स्कूलले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
    राष्ट्रपति रनिङ शिल्ड दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल धनकर्ण श्रेष्ठलाई हस्तान्तरण गर्दै नगरप्रमुख तीर्थराज भट्टराई, उपमेयर विसन राई, सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईलगायत ।

    खोटाङ, १५ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूलले उपाधि जितेको छ ।

    नगरपालिकाका कर्मचारी सुवासचन्द्र राईका अनुसार नगरपालिकाभित्रका २४ माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा विजेता विद्यालयले १८ स्वर्ण, १८ रजत र १९ कास्य पदक हात पार्न सफल भएको हो ।

    विद्यालय तहमा खेलकुदको विकास, विद्यार्थीहरूको प्रतिभा उजागर गर्न, र स्वस्थ प्रतिस्पर्धाको भावना सिर्जना गर्ने उद्धेस्यका साथ आयोजित प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल दश स्वर्ण, दश रजत र ११ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो ।

    जनजागृति आवासीय विद्यालय सोल्मा नौँ स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित तेस्रो तथा श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ पाँच स्वर्ण, चार रजत र दुई कास्य पदकसहित चौथो स्थानमा रहे ।

    सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईका अनुसार भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो गरी पाँच विधाका ४९ इभेन्टमा ६३२ विद्यार्थीले सहभागिता जनाएका थिए ।

    विजेता विद्यालयलाई नगद रु २१ हजार १११ सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालित प्रतियोगिताको कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले औपचारिक उद्घाटन गरेका थिए ।

    नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार नगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु दश लाख उपलब्ध गराएको छ । साथै सहभागी सबै विद्यालयलाई खेल सामग्री र यातायात भाडा बापतको रकम पनि उपलब्ध गराइएको छ ।

    यस प्रतियोगितामा विजयी विद्यार्थीहरूले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । हाल जिल्लाका दशवटै स्थानीय तहले जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन्, तर दिक्तेल बजारमा हुने जिल्लास्तरीय प्रतियोगिताको मिति भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

    सम्बन्धित समाचार