Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढीमा नगरस्तरीय चित्रकला प्रतियोगिता हुने

    दिक्तेल रुपाकोट मझुवागढीमा नगरस्तरीय चित्रकला प्रतियोगिता हुने


    • सोमवार, पौष १ २०८१

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढीमा नगरस्तरीय चित्रकला प्रतियोगिता हुने
    फायल तस्बिर ।

    खोटाङ, १ पौष । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सरस्वती जयन्तीको अवसर पारेर आगामी माघ २१ गते नगरस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    “नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम” अन्तर्गत हुन लागेको यस प्रतियोगिताले “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५” लाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख तिर्थराज भट्टराईले बताए ।

    ‘चित्रभित्रको चित्र र रङ भित्रको रङ खोज्ने’ शीर्षकमा आयोजना हुन लागेको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् ।

    नगरपालिकाले चित्रकला मार्फत विद्यार्थीहरूको व्यक्तित्व विकास गर्नुका साथै लुकेका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने अपेक्षा लिएको नगर प्रमुख भट्टराईको भनाई छ । सहभागीहरूले प्रतियोगितामा पेन्सिल रङ्ग, क्रेयन्स रङ्ग, पानी रङ्ग वा पोस्टर रङ्ग प्रयोग गर्न सक्नेछन् भने चित्र कोर्नका लागि १५/२२ इन्चको फ्रान्सेली कार्टिज पेपर वा क्यानभास प्रयोग गर्न सक्ने जनाएको छ । 

    rt.jpeg

    प्रतियोगितामा मौलिक संस्कृति, रेडपाण्डा र थारको महत्व, पर्यावरण तथा मौसम परिवर्तनको प्रभाव झल्किने चित्रहरूलाई विशेष प्राथमिकता दिइनेछ । प्रतियोगितामा प्रथम हुने विजेतालाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी र प्रमाण–पत्र प्रदान गरिने छ । 

    यस्तै, सान्त्वना पुरस्कार क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ रहेका छन् । सहभागी विद्यार्थीहरूले विद्यालयको आधिकारिक पत्र र विद्यार्थी परिचयपत्र प्रतियोगिता हुनुभन्दा १५ दिन अगावै पेश गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राईद्धारा जारी सुचनामा उल्लेख छ ।

    प्रसिद्ध चित्रकार लैनसिंङ वाङ्देलको पैतृक थलो रहेको खोटाङमा गत वर्ष “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी”को सफल आयोजना गरेको नगरपालिकाले नेपालमै पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा तथा थार महोत्सव पनि आयोजना गर्न लागेको छ ।

    सम्बन्धित समाचार