शुक्रवार, मंसिर १४ २०८१
नेपाल वाइड
खोटाङ, १४ मंसिर । केपिलासगढी गाउँपालिकाको पहलमा १९ जना महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाले काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पतालमा पठाएका ३२ महिलामध्ये १९ जनाको शल्यक्रिया सफल भएको हो ।
गाउँपालिका प्रमुख समिर राईका अनुसार सामुदायिक सेवा प्रतिष्ठान नेपालले आर्थिक सहयोग र शीर मेमोरियल अस्पतालले निःशुल्क प्राविधिक सहयोग गरेको छ । “शल्यक्रिया गरिएका महिलाका लागि विशेषज्ञ डाक्टरहरूसँगै गाउँपालिकाबाट पठाइएका चारजना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र हेरचाहमा उपचार भइरहेको छ,” वँहाले भन्नुभयो । । मंसिर ७ गते अस्पताल पुर्याइएका ३२ महिलामध्ये सात जनामा दोस्रो चरणको समस्या मात्र देखिएको छ ।
दोस्रो चरणको समस्या देखिएका महिलाहरुलाई शारीरिक व्यायाम र नियमित औषधि प्रयोगबाट सुधार हुने स्वास्थ्यकर्मीहरूको सुझाव छ । अन्य छ जनामा मुटु, उच्च रक्तचाप र मधुमेह जस्ता समस्या देखिएकाले पछि शल्यक्रिया गर्ने गरी फर्काइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।
गाउँपालिकाको तथ्यांक अनुसार त्यहाँ बसोबास गर्ने ५६ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार विशेषगरी ग्रामीण क्षेत्रका महिलामा यो समस्या बढी देखिन्छ ।
तर महिलाहरूले समस्या बाहिर नल्याउने र सही तथ्यांक नआउने कारण उपचारमा कठिनाई हुने गरेको छ । स्थानीय तहले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेपछि लामो समयदेखि रोग लुकाएर बसेका महिलाहरूलाई राहत मिलेको छ ।