शनिवार, कार्तिक १० २०८१
नेपाल वाइड
खोटाङ, १० कात्तिक । नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले दिक्तेलको रत्नपार्कमा जेब्रा क्रसिङ साईन निर्माण गरेको छ । तरुण दलको ७२ औं स्थापना दिवसको अवसर पारेर तरुण दल जिल्ला कार्य समितिले कात्तिक १० गते किरातचोकमा पर्ने मध्यपहाडी लोकमार्गमा जेब्रा क्रसिङ साईन राखिदिएको हो । दिक्तेल बहुमुखी क्याम्पस जाने बाटोको दायाँ–वायाँ हुनेगरी जेब्रा क्रसिङ साईन राखिएको नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङका अध्यक्ष काजीमान राईले बताए । बढी भिडभाड र आवत–जावत हुने ठाउँ छानेर जेब्रा क्रसिङ साईन राखिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०८० चैतमा दिक्तेलको किरातचोक लगायतका ठाउँमा जेब्रा क्रसिङ साईन राखेको थियो । तरुण दलले मेटिदैगएको त्यही स्थानमा जेब्रा क्रसिङ साईन राखिदिएको हो । तरुण दलले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुई थान ट्राफिक चेकिङ होर्डिङबोर्ड पनि प्रदान गरेको छ ।
जेब्रा क्रसिङ साईन निर्माणमा तरुण दलका केन्द्रीय सदस्य सञ्जयकुमार राई, नेबिसंघ जिल्ला कार्य समिति खोटाङका अध्यक्ष मोतीचन्द्र राई, तरुण दलका दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष दिवासन राई लगायतका युवाको सहभागीता रहेको थियो । कांग्रेस निकट तरुण दल २०१० कात्तिक १० गते स्थापना गरिएको थियो ।