शुक्रवार, भाद्र २८ २०८१
नेपाल वाइड
खोटाङ, २८ भदौ । खोटाङबाट निर्वाचित प्रदेश सांसद भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनेको अढाई महिनापछि नयाँ मन्त्री मण्डल विस्तारका क्रममा राई प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् । कांग्रेस राईकै नेतृत्वमा प्रदेश सरकारमा गएको हो ।
कांग्रेस प्रदेश महामन्त्री रहेका राई सिटौला समुहका नेता हुन् । उनले यसअघि नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको रुपमा पनि काम गरिसकेका छन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । राईले मन्त्रीको शपथ लिएसँगै प्रदेश सरकारमा खोटाङका दुई मन्त्री बनेका छन् । एमालेबाट निर्वाचित प्रदेश सांसद पाँचकर्ण राई यसअघि नै सामाजिक विकास मन्त्री छन् ।
कांग्रेसबाट राईसहित खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छन् । कोइराला पक्षले दुई मन्त्रालयमा दाबी गरेका थिए तर भागबन्डामा कुरा नमिल्दा कोइराला पक्षबिनै कांग्रेस सरकारमा सहभागी बनेको हो ।
हिकमत कार्की मुख्यामन्त्री रहेको सरकारमा यसअघि एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन् ।