सोमवार, भाद्र १० २०८१
नेपाल वाइड
खोटाङ, १० भदौ । खोटाङमा सिँचाई पोखरीमा डुबेर एकैघरमा दाजु बहिनीको मृत्यु भएको छ । पोखरीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका ६ वर्षीय संगम राई र ३ वर्षकी समृद्धि राईको मृत्यु भएको हो । साविकको च्यास्मीटार–२ बाङ्माका दाजुबहिनीको सोमबार घरभन्दा करिब एक किलोमिटर टाढा पर्ने भुतिया खोला नजिक रहेको खेतको मुहानमा बनाइएको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरका अभिभावक मकै भाँच्न गएकोबेला दाजुबहिनी खेल्नेक्रममा पोखरीमा पुगेको अनुमान गरिएको छ । घरमा बच्चाहरु नदेखिएपछि आमा ममिता राईले खोजी गर्दैजाँदा दाजुबहिनीलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए । सामान्य हातखुट्टा चलाउँदै गरेको अवस्थामा पोखरीबाट निकालेर घर पु¥याए लगत्तै बालबालिकाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
सो पोखरी वर्ष दिनअघि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)को आर्थिक सहयोगमा निर्माण गरिएको हो । ‘स्टीमेट’मा घेराबारा बनाउनुपर्ने भए पनि घेराबारा नलगाइ छाडेका कारण पोखरीमा बालबच्चा पसेर डुबेको स्थानीय बताउँछन् । पोखरी बन्नुअघि सो खेतमा कुवा थियो । हिउँदमा नजिकको मुहान सुकेपछि स्वयं पिडित परिवारले पनि सोही ठाउँको पानी उपयोग गर्दैआएका थिए ।
पानीको श्रोत संरक्षण गरेर उपयोगका लागि भन्दै डिसिआरएलले पोखरी बनाइदिएको थियो । तर हत्तपत्त कोही नपुग्ने एकान्त ठाउँमा भएको र खेतमा पानी लगाइरहनुपर्ने भएकाले पोखरी आसपासमा घेराबारा नलगाइ छाडेको युवा नेता रसकुमार राईले बताए ।
संगम गाउँकै कलंका आधारभुत विद्यालयमा कक्षा २ र मा संमृद्धि कक्षा १ मा अध्ययनरत थिईन् । सोमबार सार्वजनिक बिदा दिइएका कारण संगम र बहिनी संमृद्धि घरैमा बसेका थिए । एकाघरका दाजुबहिनीका लागि त्यही ‘विदा नै काल’ बनेको कलंका प्राविका प्रअ रामकुमार राईले बताए ।
बुवा गइन्द्र राई बैदेसिक रोजगारीका सिलसिलामा विदेशमा छन् । परिवारको दुई सन्तानमध्ये दुबै जनाको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । कानुनी प्रकृयाको लागि डिएसपी खड्का सहितको टोली घट्नास्थल पुगेको छ ।