Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङ प्रज्ञा प्रतिष्ठानद्वारा कवि भगवतीप्रसाद शर्मालाई सम्मान

    खोटेहाङ प्रज्ञा प्रतिष्ठानद्वारा कवि भगवतीप्रसाद शर्मालाई सम्मान


    • शनिवार, भाद्र ८ २०८१

    • नेपाल वाइड


    खोटेहाङ प्रज्ञा प्रतिष्ठानद्वारा कवि भगवतीप्रसाद शर्मालाई सम्मान
    कवि भगवतीप्रसाद शर्मालाई दोसल्ला ओढाई सम्मान गर्नुहुदै खोटेहाङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष किरण राई एबम् प्रतिष्ठानका पदाधिकारीहरुलगायत ।

    खोटाङ, ८ भदौ । खोटेहाङ प्रज्ञा प्रतिष्ठानले कवि भगवतीप्रसाद शर्मालाई सम्मान गरेको छ । प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमको आयोजना गरि छन्द कवि तथा खोटेहाङ प्रज्ञा प्रतिष्ठान सभाका सदस्य भगवतीप्रसाद शर्मालाई कदरपत्रसहित सम्मान गरेको हो ।

    कवि शर्माको ‘एक से एक छन्द’ नामक कविता संग्रह हालै प्रकाशित भएको छ । मोफसलमा रहेर नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै कवि शर्मालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष ईन्द्र नाराथुङ्गेले जानकारी दिए ।

    खोटेहाङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष किरण राईले कवि शर्मालाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । यसैबीच, प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर गाउँपालिका स्तरीय खुल्ला गजल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    आगामी भदौ १७ गते खोटेहाङ गाउँपालिकाको सभा हलमा प्रतियोयगिताको आयोजना गरिएको अध्यक्ष नाराथुङ्गेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार हुनेलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । अन्य सहभागीहरूलाई यातायात खर्च र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा भाग लिन इच्छुक कविहरूले भदौ १५ गते भित्र आफ्नो गजल पेश गर्नुपर्नेछ । पहिलो चरणमा छनौट भएका गजलहरू मात्र वाचनको लागि योग्य हुनेछन्, र छनौट भएका प्रतियोगीहरूले आफै उपस्थित भई आफ्नो गजल वाचन गर्नु पर्ने प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानको वार्षिक कार्यक्रमहरुमा हरेक महिनाको अन्तिम शुक्रबार फरक-फरक माद्यामिक विद्यालयहरुमा साहित्यिक गोष्टि तथा सिर्जना वाचन गर्ने कार्यक्रम आयोजना गर्ने, मोती जयन्तीको दिन खोटेहाङ गाउँ पालिका स्तरीय खुल्ला गजल प्रतियोगिता आयोजना गर्ने, विश्व माटो दिवसको दिन “माटोको महत्व” विषयक खुल्ला वक्तित्व कला प्रतियोगितासँगै वहस कार्यक्रम आयोजना गर्ने जनाईएको छ ।

    यस्तै विश्व कविता दिवसको अवसरमा खोटेहाङ गाउँपालिका स्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने, गाउँ पालिकाको वार्षिक उत्सवसँगै खोटेहाङ गाउँपालिकाका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच खुल्ला कविता प्रतियोगिता आयोजना गर्नेलगायतको वार्षिक कार्यक्रमहरु तय भएको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा प्रतिष्ठानको चालू आर्थिक वर्षको वार्षिक बजेट र कार्यक्रमहरू पारित गर्दै पहिलो साधारण सभा समेत सम्पन्न गरेको जनाएको छ । 

    स्थानीय सरकार सञ्चालन ऐनले ब्यवस्था गरे अनुसार हरेक पालिकाले भाषा, साहित्य, कला, संस्कृति संरक्षण र संवर्धनको निम्ति प्रज्ञा प्रतिष्ठान गठन गर्न सक्ने प्रावधानलाई टेकेर खोटेहाङ गाउँपालिकाले ऐन तथा नियमावली बनाई “खोटेहाङ प्रज्ञा प्रतिष्ठान”गठन गरिएको अध्यक्ष ईन्द्र नाराथुङ्गेले बताए । 

    प्रतिष्ठानमार्फत संञ्चालित कार्यक्रमहरुले स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्नुका साथै नेपाली साहित्य, भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । १० स्थानिय तह रहेको खोटाङ जिल्लामा खोटेहाङ गाँउपालिका र दिप्रुङ चुईचुम्मा गाँउपालिले मात्र प्रज्ञा प्रतिष्ठान विधिवत रुपमा गठन गरेको जनाईएको छ ।

    सम्बन्धित समाचार