शुक्रवार, श्रावण ३२ २०८१
नेपाल वाइड
खोटाङ, ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा भिषण बाढी आएको छ । शुक्रबार दिउँसो थामे खोलामा भिषण बाढी आएको हो । बाढीले खोला किनारमा रहेको थामे गाउँको ३ वटा घर बगाएको छ । बाढीले एउटा होस्टेल र चार/पाँच वटा घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार क्षतीको विवरण आउन बाँकी छ । यद्यपी, मानवीय क्षती भएको जानकारी आएको छैन । बाढीमा फसेका सात जनालाई उद्धार गरिएको छ ।
दिउँसो बाढी आएकाले अधिकांश स्थानीयले भागेर ज्यान जोगाएका थिए । हिम ताल फुटेर वा हिम पहिरोको कारणले बाढी आएको भन्ने यकिन भएको छैन । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्धारिकाप्रसाद घिमिरेले बताए ।
थामे खोलाको बाढी क्रमशः भोटेकोसी हुँदै दुधकोसीतर्फ झर्दैछ । बाढीले खोटाङ र ओखलढुंगाको कोसी किनारमा जोखिम बढेको छ । दुधकोसीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । खोटाङ आसपासमा बाढी आइपुग्न केही घण्टा लाग्ने अनुमान छ ।









बाढी प्रभावित क्षेत्र थामे गाउँमा उद्वार गर्दै नेपाली सेना र नेपाल प्रहरी । तस्बिरहरु भोजराज कार्की ।