बिहिवार, श्रावण ३१ २०८१
नेपाल वाइड
खोटाङ, ३१ साउन । खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु भएको छ । बिहिबार बिहान विद्यालय जाँदै गरेकी रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको हो । बिश्वज्योती माबि लामीडाँडामा कार्यरत शिक्षिका नेवारलाई पैदल स्कुल जाँदै गरेको अवस्थामा वडा कार्यालय नजिकै पहिरोले पुरेको हो ।
तल्लो सडकमा हिँडिरहेकोबेला करिब सयमिटर माथि रहेको सडकको डिल खस्दा शिक्षिकालाई पुरेको लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए । शिक्षिका नेवारलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए । साविकको लामीडाँडा–५ घुमाउनेचौंर निवासी नेवारलाई विद्यालय पुग्न लागेकोबेला पहिरोले पुरेको हो । शिक्षिका केही समयपछि अनिवार्य अवकासमा निस्कँदै थिईन् ।
सँगै अगाडि हिँडिरहेकी अर्की एक महिलाले भने भागेर ज्यान बचाएका छन् । हरेक वर्षा याममा हलचल भइरहने सो ठाउँमा पहिरो जाँदै गरेको देखेपछि कतिपय स्थानीय भने फर्किएका थिए । फर्केर अर्कै बाटो जानका लागि सुझाव दिइए पनि त्यही बाटो जाँदा उनी पहिरोमा परेकी हुन् ।
घट्नास्थलमा रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्का लगायत पुगेका छन् ।