Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    क्यान्सरसँग लडिरहेकी निरमायाँको लागि जुट्यो ११ लाख ४८ हजार

    क्यान्सरसँग लडिरहेकी निरमायाँको लागि जुट्यो ११ लाख ४८ हजार


    • शुक्रवार, श्रावण २५ २०८१

    • नेपाल वाइड


    क्यान्सरसँग लडिरहेकी निरमायाँको लागि जुट्यो ११ लाख ४८ हजार

    खोटाङ, २५ साउन । क्यान्सरबाट बिरामी परेकी गोरखाको गण्डकी गाउँपालिका–५ रामपुरकी निरमायाँ थापा मगरलाई ११ लाख ४८ हजार रुपैयाँ संकलन गरेर प्रदान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा जन्म भइ २८ वर्षअघि गोरखाका हिरा थापा मगरसँग बिवाह गरेकी निरमायाँको उपचारका लागि ११ लाख ४८ हजार ६७० रुपैयाँ संकलन गरेर प्रदान गरिएको हो ।

    माईतीपक्ष र घरपक्षका आफन्तले संयुक्त रुपमा संकलन गरेको सहयोग रकम क्यान्सरसँग संघर्ष गरिरहेकी निरमायाँलाई साउन २४ गते हस्तान्तरण गरिएको छ । हाल ललितपुरको एकान्तकुनामा बस्दैआएकी निरमायाँको सहयोगार्थ अभियान्ता ध्यानकुमार राईको खातामा ९ लाख २८ हजार ६२७ र स्वयं बिरामीको खातामा २ लाख २० हजार ४३ रुपैयाँ संकलन भएको थियो ।

    आफन्तका अनुसार निरमायाँलाई स्तन भन्दामुनि क्यान्सर भएको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा चेकजाँच गर्दा उनलाई क्यान्सर भएको पूष्टि भएको हो । स्तनमुनि डल्लो आएर असहज भएपछि उनलाई अस्पताल लगिएको थियो । निरमायाँको साउन २५ गते अप्रेसनको तयारी गरिएको भाई केदार आले मगरले बताए । मासुको डल्लोभित्र रहेको भाइरसलाई निस्क्रिया पार्न र मासुको डल्लो सुकाउन आठ पटक किमो चढाई सकेपछि सिटी स्क्यान, एक्स–रे लगायतका चेकजाँचपछि अप्रेसनको तयारी गरिएको हो ।

    किमो दिनेदेखि सिटी स्क्यान लगायतका उपचारका क्रममा चार लाखको हाराहारीमा खर्च भएपछि र घरको आर्थिक अवस्थाले थेग्ने अवस्था नभएपछि माईतीपक्ष र घरपक्षले ‘निरमायाँ थापा मगर बचाउ अभियान’ सञ्चालन गरेका थिए । निरमायाँको उपचारका लागि सहयोग जुटाउन गत जेठ १९ गतेदेखि सुरु गरिएको अभियान साउन २४ गते समापन गरिएको छ ।

    निरमायाँको सहयोगार्थ ध्यानकुमार राई, ईश्वर बन्जारा, बमबहादुर मगर, मानबहादुर मगर (अर्जुन), प्रकाश बन्जारा, सन्देश मगर, केदार आले मगर लगायत १५ जना अभियान्ताले अभियान चलाएका थिए ।

    सम्बन्धित समाचार