Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राई भाषाको साझा पत्रिका ‘खुवालुङ’ बिमोचन

    राई भाषाको साझा पत्रिका ‘खुवालुङ’ बिमोचन


    • शुक्रवार, श्रावण १८ २०८१

    • नेपाल वाइड


    राई भाषाको साझा पत्रिका ‘खुवालुङ’ बिमोचन

    खोटाङ, १८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘खुवालुङ’ पत्रिका प्रकाशन सुरु गरेको छ । ‘सबै भाषा, सबै ज्ञान सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने नारालाई आत्मसात गर्दैआएको प्रतिष्ठानले राई जातिमा बोलिने भाषाहरुको साझा पत्रिका ‘खुवालुङ’ प्रकाशन सुरु गरेको हो ।

    ‘खुवालुङ’को पहिलो अंक शुक्रबार काठमाडौंमा बिचोचन गरिएको छ । राई समुदायमा बोलिने २६ भन्दा बढी भाषालाई समेट्ने गरी ‘खुवालुङ’ प्रकाशन सुरु गरिएको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बताए । यसअघि थारु भाषाको ‘लवाङगी’, मगर भाषाको ‘मिक’, भोजपुरी भाषाको ‘मुहुवा’, नेपाल भाषाको ‘थाय्भु’ लगायतका पत्रिका प्रकाशन सुरु गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

    ‘खुवालुङ’को अंकमा बान्तावा, चाम्लिङ, दुमी, नाछिरिङ, कोयी, बायुङ, वाम्बुले, पुमा, खालिङ, दुङ्माली, जेरो, लोहोरुङ, छुलुङ, पिल्मो र साम्पाङ गरि १५ भाषाका लेख रचनाहरू प्रकाशित छन् । प्राज्ञ राजन मुकारुङ प्रधान सम्पादक रहेको खुवालुङ’ पत्रिकाका कार्यकारी सम्पादक तिलक चाम्लिङ छन् भने सम्पादक मण्डलमा निराजन बतास, तेजमायाँ दुमी, कुम्भराज राई र दिवस लोहोरुङ छन् ।

    कार्यकारी सम्पादक चाम्लिङका अनुसार ‘खुवा’ भनेको चाम्लिङ राई भाषामा नदीको पानी र ‘लुङ’ भनेको ढुङ्गा हुन्छ । यसको अर्थ ‘पानीको ढुङ्गा’ हुन्छ । खुवालुङ किराती संस्कृतिको प्रतीक हो । भोटेकोसी, तामाकोसी, लिखु, दूधकोसी, अरुण, तमोर लगायतका नदीहरू मिसिएर बनेको सप्तकोसीको बीचमा विशाल सांस्कृतिक ढुङ्गा छ । उदयपुर, भोजपुर र धनकुटाको सङ्गमस्थलमा रहेको त्यही ढुङ्गालाई ‘खुवालुङ’ भनिन्छ ।

    किराती धामीहरू मुन्दुमी यात्रा गर्दा खुवालुङ पुग्छन् । यसबारे किराती समुदायमा थुप्रै मिथकहरू छन् । मुन्दुमी व्याख्या अनुसार खुवालुङ एउटा शक्तिढुङ्गा हो, जसलाई प्राचीन बसाइँसराइको क्रममा पहाड र तराईको भू–भाग छुट्याउने सिमाना मानिन्छ । खुवालुङलाई थारू–धिमाल तथा राई, लिम्बू, सुनुवारका पुर्खा छुट्टिएको जलभूमि पनि मानिन्छ ।

    प्रतिष्ठानको सामाजिक शाखा विभागका प्रमुख डा. कौशिला रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, लेखक तारालाल श्रेष्ठ, गुरुङ सुशान्त, नारायणी देवकोटा लगायतले शुभकामना दिएका थिए ।

    सम्बन्धित समाचार