Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दुबईमा सम्झौता अनुसारको काम र दाम नपाउँदा पाँच युवा अलपत्र

    दुबईमा सम्झौता अनुसारको काम र दाम नपाउँदा पाँच युवा अलपत्र


    • मंगलवार, श्रावण १५ २०८१

    • दमन राई


    दुबईमा सम्झौता अनुसारको काम र दाम नपाउँदा पाँच युवा अलपत्र
    दुबईमा अलपत्र युवा ।

    काठमाडौं, १५ साउन । दुबईमा सम्झौता अनुसारको काम र दाम नपाउँदा पाँच युवा अलपत्र परेका छन् । तोकिएको काम, तलव, सेवा र सुविधा नपाउँदा नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–६ का प्रदिपनारायण चौधरी, डक्टर चौधरी, मनोज हरिजन, राम शाह र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का रामकेश थारु अलपत्र परेका हुन् ।

    अलपत्र परेका युवाले दुबईबाट उद्धार गरेर स्वदेश फर्काउनका लागि आग्रह गरिरहेका छन् । दुःख गरेर सम्पत्ती कमाएर ल्याउने सपना बोकेर उनीहरु सपोर्ट ह्यूमन रिसोर्स प्रालि, सिनामंगल काठमाडौंबाट गत असार ६ गते दुबई पुगेका थिए ।

    इम्दाद एलएल सि कम्पनीमा मासिक ८०० र खाना वापत २५० दिराम पाउने दिने शर्तमा उनीहरु दुबई गएका थिए तर मासिक ५५० र खाना वापत २५० दिराम मात्रै दिएर ठगी गरेको पिडित डक्टर चौधरीले बताए । मेनपावरसँग गरिएको श्रम सम्झौतामा दैनिक आठ घण्टाका दरले महिनामा २६ दिन काम गर्नुपर्ने उल्लेख छ तर दुबई पुगेपछि दैनिक १२ घण्टा काम गर्नुपरेको पिडित युवाहरुले बताएका छन् ।

    नेपालका एजेन्टले इम्दाद एलएल सि कम्पनीमा पठाउने भनेका थिए तर उनीहरुलाई फसाएर अर्कै कम्पनीमा पुर्‍याइयो । अर्कातर्फ बलादिया कम्पनीको काम भन्दै सप्लायर्स कम्पनीमा लगिएको डक्टर चौधरीका दाजु सुमित चौधरीले बताए । उनीहरुलाई बेल्चा चलाउनेदेखि पानीमा पसेर लेउ सफा गर्ने काममा खटाउने गरिएको छ ।

    महिनामा चार दिन बिदा पाउने भनिए पनि दुई दिन मात्रै बिदा दिइएको छ । चार दिन बिदा माग्दा राजीनामा माग्ने गरिएको छ । बिरामी भएका बेला विदा माग्दा डक्टर चौधरीलाई कम्पनीले राजीनामा गराइसकेको छ । बिरामी पर्दा मालिकले ‘आफ्नै पैसाले उपचार गर्नु’ भन्ने गरेका छन् । सम्झौता बमोजिमको काम र सेवा सुविधा नपाएपछि पाँच युवा काम छाडेर उद्धारको प्रतिक्षामा बसिरहेका छन् ।

    बैदेसिक रोजगारीका सिलसिलामा उनीहरु नवलपरासी पश्चिमकै एजेन्ट सानो केवटमार्फत दुबई पुगेका हुन् । दुबई जाने क्रममा उनीहरुले एजेन्टलाई जनही दुई लाख बुझाएका थिए । दुबईमा अलपत्र परेका युवाको साथमा दुई खालको सम्झौता पत्र भेटिएको छ । सपोर्ट ह्यूमन रिसोर्स प्रालिसँग २०८० असारमा तथा इम्दाद कम्पनीसँग २०७९ मंसिरमा करार सम्झौता गरिएको कागजात पाइएको छ ।

    सोझासिधा युवालाई दुबई पठाएर अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न र पिडितलाई उद्धार गरेर राहत दिलाउन माग गर्दै आफन्तले साउन १३ गते वैदेसिक रोजगार विभागमा उजुरी दिएका छन् । तर कारबाही प्रकृया अघि बढाउनुको साटो वैदेसिक रोजगार विभागका कर्मचारीले मेनपावरलाई सम्पर्क गरेर उजुरी परेको जानकारी गराएका थिए । त्यसपछि मेनपावर सञ्चालकले उजुरीकर्तालाई कार्यालयमा बोलाएको थियो । “मेनपावर सञ्चालकले १ लाख ३० हजार दिए मात्रै दुबईबाट मान्छे झिकाउन सकिन्छ भन्यो,” सुमितले भने, “हामी पैसा दिन सक्दैनौं भनेपछि मुद्धा नहाल्ने र पैसा नमाग्ने कागज गर, अनि तिम्रो मान्छे ल्याइदिन्छु भन्ने प्रस्ताव गरेको छ ।” 

    सम्बन्धित समाचार