Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विदेशमा ठगिइन्छन् युवा, फर्किन्छन् रित्तो हात

    विदेशमा ठगिइन्छन् युवा, फर्किन्छन् रित्तो हात


    • आइतवार, श्रावण १३ २०८१

    • दमन राई


    विदेशमा ठगिइन्छन् युवा, फर्किन्छन् रित्तो हात

    काठमाडौं, १३ साउन । सम्झौता अनुसारको सेवा सुविधा नपाउँदा दुबईमा अलपत्र परेका दुई नेपाली घर फर्किएका छन् । कामदार करारनामा अनुसारको काम, तलव र सेवा सुविधा नपाएपछि गत चैतदेखि दुबईमा अलपत्र परेका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका राजकुमार राई र दैलेखका मानबहादुर शाही साउन १० गते स्वदेश फर्किएका हुन् ।

    करिब छ महिना अलपत्र परेका राजकुमार र मानबहादुरलाई नेपाल फर्काउन एनआरएनए, दुबईले ट्राभल डकुमेन्ट र टिकट उपलव्ध गराएको थियो ।

    दुबईमा तोकिएको काम र दाम नपाएपछि राजकुमार र मानबहादुर सहित १९ नेपाली अलपत्र परेका थिए । २०८० कात्तिकदेखि फागुनको बिचमा दुबई पुगेका उनीहरुमध्ये १६ जना फरक–फरक मितिमा घर फर्किसकेका छन् । वैदेसिक रोजगारीका सिलसिलामा उनीहरु मेची इन्टरनेशनल ओभर्सिज प्रालि, काठमाडौंमार्फत क्लिनरको कामका लागि दुबईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस नामको कम्पनीमा पुगेका थिए ।

    अलपत्र परेका १९ जनामध्ये नवलपरासीका सुनिल श्रेष्ठ, पाल्पा टिनाउका देवसिं सुनारी, कपिलवस्तुका मनोज थारु, झापाका मिस्त्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ र सुर्खेतका भविष्य जिसी बैसाख ७ गते राती फर्किएका थिए ।

    यस्तै, धादिङका तिलकबहादुर सुनार, नवलपरासीका मानबहादुर यादब, उदयपुरका किशोर खत्री, मानबहादुर कार्की, गुल्मीका हिमाल सर्तुङ्गे, कालिकोटका जितेन्द्र शाही र गोरखाको आशबहादुर गुरुङ पनि घर फर्किसकेका छन् । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई असार १५ गते नेपाल ओर्लिएका थिए । अलपत्रपर्नेमध्ये पर्शुराम र राजकुमार दाजुभाई हुन् ।

    दुबईमा अलपत्र पर्दा खाने, बस्नेदेखि नेपाल आउने क्रममा आफ्नै खर्च भएको पर्शुराम बताउँछन् । उनले दुबईमा खान बस्नका लागि मोबाईल र कागजात बन्धकी राखेर घरबाट खर्च झिकाएका थिए । समस्यामा परेका नेपालीलाई सहयोग गर्न दुतावासले बेवास्ता गर्नेगरेको पिडितको गुनासो छ ।

    करारनामा अनुसारको सेवा सुविधा माग्दै आवाज उठाउने युवालाई ‘घट्नामा हाम्रो संलग्नता छैन, खान बस्न समस्या छैन, तलव दिने पक्का भएको छ’ भन्दै कागज गर्न वा भिडियो बनाउन लगाइएको थियो । झापाका पदम नेपाल, ते¥हथुमको लक्ष्मीप्रसाद दुलाल र मोरङको करन सरदार कागज गरेर काममा फर्किएका थिए । तर हालसम्म तलव नपाउँदा उनीहरु उद्धारको प्रतिक्षामा छन् ।

    अलपत्र परेका युवाका अनुसार दुबईमा रहेका नेपालका सञ्जय थापा र भारतका नियास नाम गरेका व्यक्तीले अरु कम्पनीमा काम खोजेर केही दिन काममा लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका थिए । नियमित काम नपाउने र कोठामा आफ्नै खाएर बस्नु पर्ने भएपछि नेपाली युवा आवाज उठाउँदै मिडियाको सम्पर्कमा पुगेका थिए । भनिए अनुसारको सेवा सुविधा नपाउँदा १९ नेपाली अलपत्र परेको खबर चैत १ गते सार्वजनिक भएको थियो ।

    नेपाली युवा खाने बस्ने सुविधा सहित मासिक ११०० देखि १२०० तलव पाउनेगरी दुबई गएका थिए तर खाना सहित मासिक ९०० र आफ्नै खाना खानेलाई मासिक ११०० दिने भनेपछि उनीहरुले विद्रोह सुरु गरेका थिए । उनीहरु एजेन्टलाई जनही १ लाख ९० हजारदेखि २ लाख २० हजारसम्म बुझाएर दुबई पुगेका थिए । ठगीमा परेर फर्किएका युवाले मेनपावरलाई कारबाही हुनुपर्ने र साँवा व्याज फिर्ता हुनुपर्ने माग गरिरहेका छन् ।

    दुबईमा १९ युवा अलपत्र परेको सन्दर्भमा वैदेशिक रोजगार विभागले लिखित जवाफसहित उपस्थित हुन मेची इन्टरनेशनल ओभर्सिजलाई चैत ६ गते निर्देशन दिएको थियो । त्यसको भोलीपल्ट मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलव्ध गराउने ग्यारेन्टीका लागि नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेसलाई पत्र पठाएका थिए ।

    यस्तै, दुतावासले मेची इन्टरनेशनल ओभर्सिजलाई कारबाहीका लागि चैत ९ गते वैदेशिक रोजगार विभाग समक्ष सिफारिस गरेको थियो ।

    सम्बन्धित समाचार