Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तामझामका साथ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना

    तामझामका साथ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना


    • शुक्रवार, श्रावण ११ २०८१

    • सुर्य तामाङ


    तामझामका साथ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना

    खोटाङ, ११ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित अपराधिक गतिविधि न्यूनीकरण गर्नका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । खार्मीको खानीडाँडाका स्थानीय तस्वीर उदासको घर भाडामा लिएर राखिएको अस्थायी प्रहरी चौकी शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरेका छन् ।

    बरिष्ठ हवल्दारको नेतृत्वमा ६ जनाको टोली खटाएर अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले बताए । अस्थायी प्रहरीचौकी स्थापनासँगै शान्ति सुरक्षाका लागि प्रहरी चौकी तालखर्क वा जालपा धाउनु पर्ने वाध्यताको अन्त्य भएको स्थानीयले बताएका छन् । यसअघि खार्मीका स्थानीयलाई प्रहरी चौकी तालखर्कले शान्ति सुरक्षा प्रदान गर्दै आएको थियो ।

    hh.jpg

    अस्थायी प्रहरी चौकीले खार्मी सहित छिमेकी वडा पाथेकाका नागरिकलाई सुरक्षा प्रदान गर्नेछ । ‘खार्मीमा प्रहरी चौकी आवश्यक रहेको निष्कर्ष सहित चौकी स्थापना गरिएको हो,’ डिएसपी खड्काले भने, ‘अव प्रहरी र नागरिकबीच हातोमालो गरेर अपराधको अनुसन्धान, अपराधको नियन्त्रण र न्यनिकरण गर्न सकिन्छ ।’

    अस्थायी प्रहरी चौकीका लागि आवश्यक फर्निचर, बिजुली, खानेपानी लगायतका सुविधा वडा कार्यालयले उपलव्ध गराएको छ । प्रहरी चौकीको पक्की भवन निर्माणका लागि समेत पहल थालिने खार्मीका वडाध्यक्ष ईखबहादुर राईले बताए ।

    प्रहरी चौकीको भवन निर्माणका लागि वडाध्यक्ष राईसहित प्राध्यापक देवकुमार राई, योगा शिरोमणि नरेन्द्र श्रेष्ठ र समाजसेवी भुवन राईले चार रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । अस्थायी प्रहरीचौकी स्थापनाको अवसरमा वडाध्यक्ष राई र भुवन राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

    police post at kharmi (i).jpg

    अस्थायी प्रहरीचौकी उद्घघाटन कार्यक्रममा जिल्लास्थित तीन वटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी र स्थानीयबासीको उपस्थिति थियो ।

    स्थानीय जगत आधारभूत विद्यालयका विद्यार्थी तथा स्थानीयबासीले सांस्कृतिक झाँकीसहित फूलमाला र अबिरले अतिथिहरूलाई स्वागत गरेका थिए ।

    दुई दिनअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो ।

    सम्बन्धित समाचार