आइतवार, आषाढ ३० २०८१
नेपाल वाइड
खोटाङ, ३० असार । ओखलढुंगामा खोटाङ ओखलढुंगा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्च तदर्थ समिति गठन गरिएको छ । आइतबार खोटाङ जिल्ला स्थाई घर भई हाल ओखलढुंगामा कार्यरत कर्मचारीहरुको भेलाले गणेश बहादुर कार्कीको संयोजकत्वमा २२ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सह–संयोजक एवम् उपाध्यक्षमा बाबुराम आचार्य, सचिवमा एनिना आचार्य, सह–सचिवमा डम्बर राई, कोषाध्यक्षमा महेश खड्का र सह–कोषाध्यक्षमा गुना राई रहेका छन् ।
यसैगरी सदस्यहरुमा सुमन पोख्रेल, सुरेन्द्र बञ्जरा, कल्याण खड्का, दिनेश खत्री, नवराज बास्तोला, सन्तोष लम्साल, मणिचन्द्र राईलगायत १६ जना सदस्य रहेका छन् । संयोजक कार्कीका अनुसार, खोटाङ जिल्ला स्थायी घर भई हाल ओखलढुंगामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई एक आपसमा सहकार्य गर्दै अगाडि बढ्न सहजता प्रदान गर्न यो तदर्थ समिति गठन गरिएको हो ।
समितिले ओखलढुंगा जिल्लामा आउने कर्मचारीहरुलाई स्वागत एवम् अन्यत्र सरुवा भई जाने कर्मचारीहरुलाई (फेरी भेटौला) विदाई कार्यक्रममार्फत जिल्लाबासीलाई एक आपसमा जोड्ने काम गर्ने लक्ष्य राखेको संयोजक कार्कीको भनाई छ ।
समिति गठनले ओखलढुंगामा कार्यरत खोटाङका कर्मचारीहरुबीच समन्वय र सहकार्य बढ्ने अपेक्षा गरिएको छ । यसका साथै, कार्यक्षेत्रमा रहँदा आइपर्न सक्ने विभिन्न समस्याहरुको समाधान गर्नुका साथै सिकेका सीप र अनुभवहरु आदानप्रदान गर्ने वातावरण समितिले सिर्जना गर्ने जनाइएको छ ।