बिहिवार, आषाढ १३ २०८१
कृष्णबहादुर बुढाथोकी
खोटाङ, १३ असार । मृत्यु के होला ? यो कौतुहलता सबैको मष्तिष्कमा झन्किरहन्छ । मृत्यु पीडादायी हुन्छ भन्ने मानसिकताले आम मान्छेलाई सताउँछ, हरेक मान्छे मर्नबाट डराउँछ र बाँच्नका लागि अनेक उपाय गर्दछ भने मृत्युुबाट भाग्दछ तर मृत्यु सोचेजस्तो होईन रहेछ ।
मृत्यु न पीडाजन्य छ, न त्रासमय छ । छ त, सरल सहज र अनाचक । यो मेरो क्षणिक अनुभूति हो । जुन दिन मैले आँखासामु यमराज देखें, उ त कुनै धर्मभीरुले कल्पना गरे जस्तो अजीव र त्रासदी होईन रहेछ यानेकी कुनै अदृष्य लोकको अधिपति होईन रहेछ । रहेछ त तपाईं हामीले मायाँ गरेर जीवनको अभिन्न अंग भनेर सँगालेको हरेक वस्तु । सुखद जिवनका लागि चयन गरेको प्रिय वस्तु ।
सन्दर्भ ३१ जेठ २०८१ साँझ ६.४५ बजेको दुर्घटना । शिक्षा सुधारको अभियानबाट फर्कन लागेको गाडी अचानक सडकबाट पल्टियो । जुन गाडी हाम्रो यात्राको विश्वासी साथी थियो । धेरै पहाड, उकाली, ओराली चढायो । भञ्ज्याङ र खोला पार गरायो । हामी त्यसलाई खुब विश्वास गर्थ्यौँ, सायद यसरी यमराज बन्ला भनेर किञ्चित् सोचिएको थिएन ।
जब गाडी सन्तुलन गुमाएर पल्टिँन लागेको थाह भयो त्यसपछि होस गुम भयो । न गाडी लडेको थाह भयो न कतै दुखेको । जब होस खुल्यो, पल्टिएको गाडीभित्र बन्दकोठामा राखेको कैदी जस्तो महसुस भयो । तब प्रिय वस्तु नै समयले यमराज बनाउदो रहेछ, संसारमा आफ्नो भन्न सकिने कुनै चिज नहुने रहेछ भन्ने नयाँ दर्शनको अनुभूत भयो ।
कहिलेकहीँ (काल) मृत्यु अलमलिदो रहेछ । दुनियाँ रुवाउने कहाली लाग्दा घटना सुनेको, देखेको भएपनि प्रत्यक्ष अनुभव पछि जीवन र मृत्युको सत्य परिभाषा बुझिने रहेछ । बिस्तारै कोमातिर जान लागेको सरकारी/सामुदायिक विद्यालयको मुख्य समस्या बुझेर त्यसको समाधानका गर्न निस्वार्थ अघि लागेको हाम्रो टोली जीवन र मृत्युको अन्तर संघर्षमा समाहित हुनपुग्यो ।
माघ १८, २०८० मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षामा देखिएको गतिहिनताका जड पत्ता लगाउन गठन गरेको “शैक्षिक सुधार कार्यदल” मा संलग्न (सूर्यबहादुर राई, कृष्णबहादुर बुढाथोकी, प्रकाश श्रेष्ठ, दिलिप खत्री, दमन राई) टोली पञ्चकन्या माविबाट बेलुका ६.४५ को समयमा निर्धारित काम सकेर फर्कन लाग्दा करिब १०० मिटर अगाडि दुर्घटनामा परियो ।
जीवनको अभिन्न अंग सम्झिएको गाडी अनियन्त्रि भयो । सायद ३ मिटर पछाडि र एक मिटर अगाडिको दुरीमा पल्टिएको भए सायद आज यो दुनियाँमा रहने अवस्था हुदैनथ्यो । तर गाडी कान्लामा दौडन्छ धन्ने कुरा चलचित्रमा देखिएको थियो । वास्तविकतामा यहाँ ३ मिटरसम्म कान्लामाथि दौडेको देखियो । यहाँ गाडी हाँक्नुहुने सुर्य राईको कुसलता थियो ।
करिब ७ मिनेटसम्म हामी अचेत अवस्थामा गाडीभित्र बन्धक भयौं । सामान्य होस फर्केपछि निस्कने बाटो खोज्यौ, गाडी उत्तानो परेको हुँदा निस्कने उपाय थिएन । साँघुरो डिलमा कोल्टे परेको हुँदा फेरि खस्ने सम्भावना भएकोले हलचल नगरी बस्ने सुझाव प्रकाशजीले दिदैहुनुहुन्थ्यो । बाँसको टेको दिनु भन्दै गाडीभित्रैबाट साथीहरु कराइरहनु भएको थियो ।
अनायास् सुर्यजीले गाडी बन्द गरेर सोध्नुभयो “साथी हो तपाईंहरु ठिक त हुनुहुन्छ।” सबैले कुशल भएकोे जवाफ दिनुभयो । एक सुरमा उहाँले बाहिर निस्कने बाटो खोज्नुभयो । उत्तानो भएको गाडीको ढोका झ्याल जमिनमा धसिएकोले अन्य विकल्प थिएन । अगाडिको सिसा सामान्य रुपमा देखिएकोले त्यो सिसा फुटालेर बाहिर जानुभयो । सायद उहाँ पनि अर्धहोसमा भएर होला हामीलाई बाहिर निस्क भन्न सक्नुभएन । गाडी र वरिपरिको भूगोल नियालेर उभिनु भयो ।
मनकाजी राई (प्रअ, पञ्चकन्य मा वि) अत्तालिएर गुहार गर्दैहुनुहुन्थ्यो । भित्र रहेका हामी चारजना थोरै हलचल गरियो भने गाडी पल्टिने त्रासले के गरौं भनेर सोचिरहेको बेला दिलिपजी निस्कदा पनि गाडी हलचल नभएपछि म बाहिरिएँ र क्रमशः प्रकाशजी र दमनजी बाहिरिनुभयो । जीवनलाई मृत्युको पञ्जाबाट खुस्काउनु साथ हामीसँगै चित खाएको गाडीको फोटो दिक्तेलका साथीहरुलाई पठाउनु भएछ दिलीपजीले ।
यो समग्र घटना करिब १० मिनेटको थियो भने जीवन र मृत्युको दोसाँध कति रहेछ ? बढीमा एकपल, एक सेकेण्डमा सकिने रहेछ । एक पलको जिन्दगीमा हजारौ माईलको यात्रा श्रीगणेश गर्छ, संसार बदल्ने र अकणटक रहने धृष्टता गर्छ मान्छे । यी सबै बलेंसीको पानीको फोकाले सागर पुग्ने होड गरे जस्तै रहेछ ।
अनुभूति र भोगाई आ-आफ्नै हुन्छन् । परिभाषा र अर्थ कहिलेकहीँ गलत सावित हुने रहेछन् । सुुनेको, “मृत्युको फैसला चित्रगुप्तले गर्छ, हरेक प्राणीको बहीखाता चुस्त छ” तर त्यस्तो देखिएन । कहावत र किंवदन्ती अलग होलान् तर मृत्यु शाश्वत सत्य रहेछ । लौकिक रुपमा चाहे संसार बदल्न हिड्ने सिकन्दर हुन्, संसार खरानी बनाउने हिटलर हुन्, संसार हल्लाउने मार्क्स हुन वा संसार मुसारेर शान्त बनाउने गान्धी हुन् सबैको मृत्युु फरक रहेछ ।
अलौकिक रुपमा व्यासले सिर्जेका त्रिकालदर्शी कृष्णार्जुन हुन् वा वाल्मीकिले बनाएका राम, हनुमान हुन् सबैको मृत्युको रुप आ-आफ्नै थिए । यसर्थ मृत्युु को, कसको, कसरी आउँछ भन्न नसकिने रहेछ । मृत्युुसँग डराएर भाग्नु मुर्खता शिवाय केही होईन रहेछ ता कि मृत्युुलाई निदाउदा सिरानीमा, उठ्दा शिरमा राखिदो रहेछ मानिसले । भोजन गर्दा गाँसमा र यात्रा गर्दा साथमा मृत्यु सरिक भईदिने रहेछ । जन्ती जाँदा नाच्दै, रमाउँदै, शवयात्रामा जाँदा शोक सलामी लिदै सँगै सवार हुनेरहेछ मृत्यु ।
व्यासाशनमा बस्ने पण्डित र कुशासनमा बस्ने करता, महलमा बस्ने महाजन होस् कि झुपडीमा बस्ने झुम्रे होस्, आकाशमा उड्ने परी हुन् वा डालीमा बस्ने चरी, पसिना बगाउने परिश्रमी मजदुर होस कि पसिना चुस्ने घगडान शोषक, सामाजिक अभियान्ता होस् कि समाज भँडुवा सामन्त घुसको चाङमा लुक्ने होस् वा दोबाटोमा ढुक्ने सबैको काखमा मृत्यु हुर्कदो रहेछ । यत्रतत्र सर्वत्र, सर्वव्यापि सार्वजनीन मृत्यु आत्मा शयर गराउने परमात्माको अर्को रुप रहेछ ।
मृत्युु परास्त भयो, संसार त्रस्त भयो, चित्रगुप्तले हार खायो, यमराजले गल्ती सच्यायो कारण पूरा भएको थिएन अभियान, अझै हाँक्नु थियो बेजोडले कमान, परिवर्तनका मसिना बिरुवालाई मलजल गर्न र शिक्षाको सुन्दर बिहानी भेट्न हतारिएका निर्दोष पाईला सार्ने गोरेटो बनाउनु थियो । अन्धकारको खोंचबाट लाखौ अबोध हातहरु सगरमाथाको शिखर चढाउनु थियो र पो मुक्ति दियो, चित्रगुप्तले ।
सायद जीवनको मैझारो भईदिएको भए, अभियान टुहुरो हुनेथियो । शिक्षाको सौभाग्यको साधन हराउने थियो । नगरको योजना भूत हुनेथियो वा हामी हुने थियौ चित्गुप्तको ढोकामा बयानबाजीमा । अरु जे भएपनि पाँच परिवारको सिउँदो पुछिन्थ्यो, आशामुखी चिचीभुँडी चिहिलबिहिल हुन्थे । दुई सञ्चार क्षेत्र अनाथ हुन्थे अझ शुभम् बिलखबन्दमा पर्थ्यो होला ।
आवासमा आश्रय लिएर भविष्यको भर्याङ चढ्दै गरेका तमाम बालबालिकाले अभिभावक गुमाउँथे होला । शिक्षामा सुधार होला कि भन्ने शुभचिन्तकको आस आँधीले उडाउँथ्यो होला । यो पंक्तिकारको केही बिग्रने थिएन । जन्मदै मृत्युपत्रमा सहिछाप गरेको हुनाले । भान्साको ऐरेलु सम्झिनेहरुका लागि थोरै राहत मिल्थ्यो होला । जो जसलाई जस्तो पर्थ्यो अनुमानमात्र हो ।
सत्य के हो भने मृत्युु सहज र सरल अनि जीवन क्षणभङ्गुर हुनाले हावामा उड्थ्यो होला । अब मृत्युको मुखबाट फर्किएको यो नाफाको जीवनले बाँकी काम पूरा गर्न र परिवर्तनका खुडकिला निर्माण गरेर नयाँ संसारको क्षितिज उघार्न सक्दो कोशिस गर्न आवश्यक छ किनकि चित्रगुप्तले यसकै लागि उपहारमा फिर्ता दिएको हो, हुनसक्छ । (लेखक पुर्वक्याम्पस प्रमुख एबं दिरुमनपाले गठन गरेको शिक्षा सुधार कार्यदलका सदस्य हुन् ।)