Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुङ्गा गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक

    जन्तेढुङ्गा गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक


    • शनिवार, आषाढ ८ २०८१

    • नेपाल वाइड


    जन्तेढुङ्गा गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक
    जन्तेढुङ्गा गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक गर्नुहुदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, पालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेम खड्का र निमित्त कार्यकारी प्रमुख विनय निरौला ।

    खोटाङ, ९ असार । जन्तेढुङ्गा गाउँपालिकाले आफ्नो क्षेत्रको विस्तृत सांस्कृतिक, धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका विषयहरूलाई समेटेर तयार पारिएको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक गरेको छ । बुधवार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।

    अनुसन्धानकर्ता डा. भक्त राई, शुभ मुकारुङ र प्रविण पुमाले खोज अनुसन्धान गरि प्रकाशनमा आएको पुस्तक एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । पुस्तकमा गाउँपालिका भित्रका विभिन्न जातजातिको पहिचान, लोकमिथकहरु, प्रचलित मौलिक संस्कृति, भाषा, भेषभूषा, लोक परम्परालगायतका विषयहरू समावेश गरिएका छन् ।

    यसका साथै, पालिकाभित्र अवस्थित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको जानकारी र गाउँपालिकाको विकासका आधारहरू समेटिएका छन् । गाउँपालिका अध्यक्ष अरुणादेवी राईले पुस्तक पालिकाको एक महत्वपुर्ण प्राज्ञिक दस्तावेज भएको बताईन् ।

    अध्यक्ष राईले यस जन्तेढुङ्गा गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन पुस्तकमा गाउँपालिकाभित्र ऐतिहासिक संम्पदाहरु के–के छन ? जगेर्ना गर्नु पर्ने संस्कार संस्कृतिहरु कुन अवस्थामा छन ? यी विषयलाई महत्वकासाथ समावेश गरिएको बतार्ईन् ।

    अध्यक्ष राईले भने “आगामी दिनमा के कस्ता विकासका योजना र आयोजनाहरू आवश्यक छन् र कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने कुराको महत्वपुर्ण आधार स्तम्भको रुपमा यस पुस्तक रहनेछ ।”

    जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले पालिकाले महत्वपूर्ण दस्तावेजीकरणको काम गरेको बताए । वहाँले प्रकाशित पुस्तक मानवीय विकास र भौतिक विकासलाई सँगै लैजानका लागि एक महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज भएको बताए ।

    समन्वय प्रमुख राईले भने “यस पुस्तकले जन्तेढुङ्गा गाउँपालिकाको सांस्कृतिक सम्पदा र विकासका लागि मार्गचित्र प्रस्तुत गरेको छ, जसले स्थानीय पहिचान र विकासलाई एकीकृत रूपमा अगाडि बढाउन मद्दत गर्ने छ ।”

    पालिका उपाध्यक्ष खड्काले ६ वटा वडा रहेको जन्तेढुङ्गा गाउँपालिकाको समृद्धिका लागि सम्भावनाहरूको पहिचान गरिएको यस पुस्तकले आगामी दिनमा पालिकाको विकास योजना तर्जुमा र कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । पुस्तक सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खेम बहादुर खड्का, निमित्त कार्यकारी प्रमुख विनय निरौलालगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार