Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका १० मध्ये नौ स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषित

    खोटाङका १० मध्ये नौ स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषित


    • बुधवार, आषाढ ५ २०८१

    • सुर्य तामाङ


    खोटाङका १० मध्ये नौ स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषित

    खोटाङ, ५ असार । खोटाङको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जन्तेढुंगा गाउँपालिकालाई असार ५ गते र बराहपोखरी गाउँपालिकालाई असार ४ गते पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

    प्रमुख अतिथिका रुपमा जिल्ला खोप समन्वय समिति संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले दुबै पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । गाउँपालिकाका १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई १३ किसिमका रोगविरुद्धको खोप दिइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

    जन्तेढुंगा गाउँपालिकाका ७६८ जना र बराहपोखरी गाउँपालिकाका ५५७ जना बालबालिकाले सबै प्रकारका खोपको मात्रा पाएको यकिन भएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफ्लाइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    जन्तेढुंगा गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा स्वास्थ्य शाखा सहायक संयोजक देवराज बस्नेतले पुर्ण खोप दिगोपनाका लागि गरिएका क्रियाकलापसहितको प्रतिवेदन गाउँपालिका अध्यक्ष अरुणादेबी राईलाई बुझाएका थिए । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकत विनय निरौला, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, वडाअध्यक्ष, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    यस्तै, बराहपोखरी गाउँपालिका अध्यक्ष सालिकराम बञ्जाराको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यतामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

    हालसम्म जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका र रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।

    २०७४ पुस १४ गते खोटाङलाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    सम्बन्धित समाचार