मंगलवार, जेठ २९ २०८१
नेपाल वाइड
खोटाङ, २९ जेठ । किरात राई समुदायको उद्गमथलो मानिने खोटाङको तुवाचुङ जायजुममा सामुहिक पितृ पुजा गर्दै साकेला नाच प्रदर्शन गरिएको छ । उभौली चाडको अवसरमा जेठ २९ गते किरात राई समुदायले ‘तुवाचुङ डे’को रुपमा तीन चुल्हाको पुजा सहित साकेला नाच प्रदर्शन गरेका हुन् ।
ऐतिहासिक एबं पर्यटकीय स्थल तुवाचुङ जायजुममा किराती पुर्खा तायामा, खियामा र रैछाकुलेको सम्झना एबं संस्कार संस्कृति संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिले हरेक वर्ष चुला पुजा तथा साकेला सिली प्रदर्शन गर्दैआएको छ । २०६५ सालदेखि तुवाचुङ जायजुममा सामुहिक पितृ पुजा गर्दै साकेला नाच प्रदर्शन गर्ने प्रचलन बसाइएको संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।






