Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हौंचुरको राईसिंगेमा ६३ वर्षपछि साकेला मनाउन सुरु

    हौंचुरको राईसिंगेमा ६३ वर्षपछि साकेला मनाउन सुरु


    • मंगलवार, जेठ १५ २०८१

    • नेपाल वाइड


    हौंचुरको राईसिंगेमा ६३ वर्षपछि साकेला मनाउन सुरु

    खोटाङ, १५ जेठ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा रहेको राईसिंगेमा ६३ वर्षपछि साकेला मनाउन सुरु गरिएको छ । हौंचुरको भूमेथानमा भूमे निकाल्ने क्रममा नक्छुङको मृत्यु भएपछि राईसिंगेमा विक्रम संवत २०१८ सालदेखि साकेला नाच्न छाडिएको थियो ।

    येलेदोङ सम्वत ५०८४ उभौली साकेलाको अवसरमा हौंचुर राईसिंगे परिवारको आयोजनामा जेठ ९ गतेदेखि राईसिंगेमा धुमधामका साथ साकेला मनाउन सुरु गरिएको हो । आगामी दिनमा राईसिंगेमा नियमित साकेला मनाइने राईसिंगे परिवारका संयोजक गजेन्द्र खालिङले बताए । राईसिंगे परिवारले किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातलाई प्रमुख आतिथि बनाएर साकेला मनाउने परम्परालाई पुःन निरन्तरता दिएका हुन् । भूमेथानमा पुजाआजा गरेपछि राईसिंगेमा साकेला नाचिएको हो ।

    एक बैसाख पूर्णीमामा भुमेथानबाट भुमे निकालेको चार महिनापछि पहिलो पहरी जालपा खरबारीका नक्छुङ बर्मध्वज राई, दोश्रो पहरी धामी साईला र धामी साईलाको भाईको निधन भएपछि भुमेथानमा साकेला नाच्न बन्द गरिएको थियो । नोक्छुङहरु बित्न थालेपछि भूमेथानमा ढोल झ्याम्टा बजाएर साकेला नाच्न छाडिएको थियो । सोही असरले राईसिंगेमा पनि साकेला नाच्न छाडिएको थियो ।

    नक्छुङका अनुसार भूमेस्थानमा कालो भुमे रहेको छ । सोही कारण साकेला नाच्दा धामीलाई क्षती हुने बिश्वास गरिन्छ । भूमे निकाल्न साकेला नाच्दै जो जो धामी भूमेथान पुगे, त्यी धामीको चार महिनाकै अन्तरालमा निधन भएको स्थानीय सुरेन्द्र राई बताउँछन् ।

    पुर्वमा लुम्झु खोला र पश्चिममा लोचा खोलाले छेकेको आठ पहरी किरातीले भूमेथानमा भुमे निकाल्न साकेला नाच्ने गरेका थिए । एक बैसाख पूर्णीमाका पहिलो पहरी जालपा खरबारीका बर्मध्वज राईले भुमेथानबाट भुमे निकाले । भूमे निकालेको चार महिनापछि उनको निधन भयो । दोश्रो पहरी धामी साईला भूमे निकाल्न नाच्न आए । उनी पनि चार महिनापछि वितेको स्थानीय सम्झना गर्छन् । तीन पहरीपल्ट पुर्‍याउनै पर्छ भनेर धामी साईलाको भाई भुमे निकाल्न अघि सरे, उनको पनि चार महिनापछि निधन भएको स्थानीय पुर्खा नक्छुङ तुलबहादुर राई (गैराघरे)ले बताए ।

    जालपाबाट नाच्दै भूमेथान झर्दैगरेको धामीलाई कुभिन्डे दम्कुका अर्का धामीले ‘बिशाल नागको मुखमा नाचिरहेको’ देखेका थिए भनिन्छ । दम्कुका धामीले ‘अव धेरै टिक्दैन’ भनेको केही समयपछि नै भूमे उठाउन गएका धामीको निधन भएको बुढापाकाको भनाई छ । भूमेथानको भुमे शक्तीशाली भएकाले धामीहरुले निकालेर लाने प्रयास गरेका थिए ।

    वरपर खेत र जंगल रहेको भूमेथानमा २०१८ सालसम्म पहरी धामीको उपस्थितिमा भुमे पुजिएको थियो । लगातार धामी वित्न थालेपछि तीन/चार वर्षसम्म भूमे पुज्ने काम गरिएन । भूमे नपुजेपछि त्यस क्षेत्रमा अनिकाल, बाढी पहिरो र खडेरी सुरु भयो । त्यसपछि दम्कुका धामीमार्फत दुई साल भूमे पुजा गरिए । तर ‘भूमेथानमा कालो भूमे छ । खतरनाक छ, म सक्दिन’ भन्दै उनी नियमित पुजा गर्न तयार भएनन् । त्यसपछि क्रमशः भैमानसिं, हर्कधन हुँदै तुलबहादुर राईले बैसाख पूर्णीमामा पुजाआजा गर्दैआएका छन् ।

    तुलबहादुरले भूमेथानमा पुजाआजा सुरु गरेको २० वर्ष वितिसकेको छ । भूमे पुजेपछि सिजनमा पानी पर्ने र अन्नपात सप्रिन सुरु गरेको स्थानीय बताउँछन् । भूमेथानमा राई मात्र नभएर कार्की समुदाय पनि भाले, धान र कोदो लिएर पुजाआजा गर्न पुग्ने गरेका थिए ।

    भूमेथान एउटा थुम्कोमा बिशाल सिमलको रुखको फेदमा अवस्थित छ । वरपर झाडी पलाएको छ । सिमलको बिशाल रुखलाई ढालेर डुंगा बनाउनका लागि माझीहरु आएका थिए रे । राती त्यही बास बसेका माझीहरुले सपनामा रुख ढाले अनिष्ट हुने संकेत पाएपछि बिहानै छाडेर हिँडेको किंवदन्ती छ ।

    भूमेथान नजिकै रहेको ताल फोहोर भएपछि फुटेर गएको बुढापाका बताउँछन् । भूमेथानभन्दा तल रहेको पानीको मुहानलाई ताल भासिएको अर्थमा बुझ्ने गरिएको छ । ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको भूमेथानका विषयमा भने स्वयं राई समुदाय बेखबर देखिएका छन् ।

    सम्बन्धित समाचार