बिहिवार, जेठ ३ २०८१
नेपाल वाइड
खोटाङ, ३ जेठ । ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा खोटाङको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क परिषर सरसफाई गरिएको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा विहिबार एमाले गाउँपालिका कमिटि, ऐसेलुखर्कको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र परिषर सरसफाई गरिएको हो ।
स्मृति दिवस एमालेका प्रदेश कमिटि सदस्य प्रभातबिक्रम कट्वालको प्रमुख आतिथ्यता एबं एमाले जिल्ला कमिटि खोटाङका उपाध्यक्ष कुमार आचार्यको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कट्वालले मदन भण्डारी र जिवराज आश्रितको योगदानलाई पार्टीले सदैव सम्झिरहेको बताएका छन् । उनले जवजको व्याख्यता भण्डारी र कुशल संगठन आश्रितको बाटोमा मुलुक हिँडेको चर्चा गरेका छन् ।
यस्तै, बुधबार सम्पन्न गाउँपालिका स्तरिय बृहत अगुवा कार्याकर्ता भेलाले गाउँपालिका कमिटिको अधिबेसन जेठ १३ गते गर्ने तथा ७ वडाको अधिबेसन जेठ २६ गतेसम्ममा सम्पन्न गर्ने निर्णय गरेको छ । कार्यक्रम एमाले गाउँपालिका कमिटि, ऐसेलुखर्कका अध्यक्ष टेकेन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।