बिहिवार, जेठ ३ २०८१
नेपाल वाइड
खोटाङ, ३ जेठ । खोटाङमा आयोजना गरिएको राष्ट्रिय कविता प्रतियोगीतामा सुनसरीका किरण सिवा प्रथम भएका छन् । ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’ अन्तरगत हलेसीमा बिहिबार आयोजना गरिएको कविता प्रतियोगीतामा सिवा प्रथम स्थान ओगट्न सफल भएका हुन् । अन्तिम प्रतिष्पर्धामा पुगेका १६ श्रष्टामध्ये सिवाको ‘विर्खे दमाईको आवाज’ शिर्षक कविताले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगीतामा भोजपुरका संग्राम किराती दोश्रो र उदयपुरका जीवन चाम्लिङ तेश्रो भएका छन् । किरातीका ‘वाध्यता की रहर’ शिर्षक कविताले दोश्रो र चाम्लिङको ‘भरिया दाई’ शिर्षक कविताले तेश्रो स्थान प्राप्त गरेको हो । प्रतियोगीतामा सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री चौथो र भोजपुरकी सकिला राई पाँचौं भएका छन् । प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौं हुने श्रष्टालाई क्रमशः ४० हजार, २५ हजार, २० हजार, १७ हजार, ११ हजार र ७ हजार प्रदान गरिएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा बैसाख ३१ गतेदेखि जेठ १० गतेसम्म हुने ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’कै एक भागको रुपमा राष्ट्रिय कविता प्रतियागीता गरिएको हो । खेलकुद प्रतिष्ठानले टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङ र रावासावा प्राज्ञिक समाजसँगको सहकार्यमा कविता प्रतियोगीता आयोजना गरेको हो ।
महोत्सवकै अर्को श्रृंखलाको रुपमा खोटाङ कलाकार समाजसँगको सहकार्यमा जेठ ६ गते १८ वर्षमुनिको खुल्ला गायन प्रतियोगीता गर्ने तयारी गरिएको छ । यस्तै, जेठ ८ गतेदेखि जेठ १० गतेसम्म राष्ट्रिय कराते प्रतियोगीता गर्ने तालिका निर्धारण गरिएको प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।
जिल्लामा ‘स्पोर्ट कल्चर’को विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष्यका साथ खेलकुद प्रतिष्ठानले महोत्सव गरेको हो ।