आइतवार, बैशाख ३० २०८१
नेपाल वाइड
खोटाङ, ३० बैसाख । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार सम्पन्न प्रतियोगीतामा पुरुषतर्फ झापाको दमक नगरपालिका प्रथम, भोजपुरको षडानन्द नगरपालिका दोश्रो र सोलुखुम्बुको सोताङ गाउँपालिका तेश्रो भएका छन् ।
महिलातर्फको प्रतिष्पर्धामा भोजपुरको आमचोक गाउँपालिका प्रथम, केपिसगढी गाउँपालिका दोश्रो र आयोजक ऐसेलुखर्क गाउँपालिका तेस्रो भएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए । ऐसेलुखर्क गाउँपालिकाको खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगीतामा महिला तथा पुरुषतर्फ प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने टिमलाई छुट्टाछुट्टै क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास, विस्तार एवं नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप खेलकुद विकास समिति ऐसेलुखर्कले बैसाख २६ गतेदेखि ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।
गाउँपालिकाका अनुसार प्रतियोगीतामा पुरुषतर्फ १५ र महिलातर्फ ४ स्थानीय तहको सहभागीता रहेको थियो । प्रतियोगीताका बेष्ट प्लेयरलाई ५ हजार तथा बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट व्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भर, अनुशासित र बेष्ट कोचलाई जनही ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको खेलकुद विकास समिति ऐसेलुखर्कले जनाएको छ ।