शनिवार, बैशाख २९ २०८१
नेपाल वाइड
खोटाङ, २९ बैसाख । खोटाङ यातायात प्रालिको अध्यक्षमा पुःन टेकेन्द्र राई चयन भएका छन् । बैसाख २८ गते जिल्ला समन्वय समितिको समिक्षालय हलमा सम्पन्न दशौं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनले पुःन राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष राई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थायीय वासिन्दा हुन् । यातायात प्रालिको १३ सदस्यीय जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्ष फडिन्द्र राई, उपाध्यक्षमा मिलन विश्वकर्मा र कान्छा कार्की चयन भएका छन् ।
महासचिवमा रामकुमार हिङमा र कोषाध्यक्षमा गोविन्द कटवाल चयन भएका छन् । सदस्यमा सन्तोषी राई, अर्जुनकुमार राई, विजय राई, गिर्भाण श्रेष्ठ, सुनिल नेपाली, बमबहादुर दर्जी र एकराज पोखरेल चुनिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार, वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), जिल्ला समन्वय समिति उपप्रमुख सुरेश तामाङ लगायतको उपस्थितिमा यातायात प्रालिको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । २०७५ सालमा स्थापना भएको प्रालिको मातहत सानाठूला गरि हाल १५० भन्दा बढी सवारी साधन आवद्ध छ ।
२०६४ पुस २० गते काठमाण्डौबाट मनाङ एयरको हेलिकप्टरबाट बा १ ख १४२० नम्बरको मिनी ट्रक झुण्याएर भित्र्याएपछि जिल्लामा औपचारिक रुपमा यातायात सेवा सुरु भएको थियो ।