बिहिवार, बैशाख २७ २०८१
नेपाल वाइड
खोटाङ, २७ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा सामुदायीक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरिएको छ । गाउँघरमै सरल, सहज र सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्धेश्यले २०७० कात्तिकमा उद्घाटन गरिएको सामुदायीक अस्पताललाई बैसाख १६ गतेदेखि ‘जनसेवा नगर अस्पताल’मा रुपान्तरण गरिएको हो ।
हालसम्म जनसेवा समाज नेपाल जालपाको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सामुदायीक अस्पताललाई नगरपालिकाको स्वामित्व र व्यवस्थापनमा सञ्चालन सुरु गरिएको छ । जनसेवा सामुदायिक अस्पतालबाट १५ शैयाको सेवा प्रवाह भइरहेको भए पनि ५ शैयाबाट ‘जनसेवा नगर अस्पताल’ सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । क्रमशः अस्पतालको शैया वृद्धि गर्दै १५ शैया पु¥याउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले जनसेवा समाजबाट अस्पतालको सम्पुर्ण स्वामित्व ग्रहण गर्दै जनसेवा नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । जनसेवाले नगरपालिकालाई अस्पतालको स्वामित्वसँगै मौजूदा चल अचल सम्पत्ति, औजार तथा उपकरण, फर्निचर लगायतका सामग्री निःशुल्क हस्तान्तरण गरेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । नगरपालिकाको २०८० माघ २५ गतेको कार्यपालिका बैठकले जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जनसेवाले आफ्नो नाममा रहेको चार रोपनी जग्गा तथा सो जग्गामा निर्माण गरिएको १४ कोठे चार वटा कच्ची भवन, चार कोठे एउटा पक्की भवन, तीन कोठा भएको स्टोर तथा क्यान्टीन, सात वटा शौचालय लगायत करिव दुई करोड मूल्य पर्ने भौतिक संरचना नगरपालिकालाई निःशुल्क हस्तान्तरण गरेको नगरका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्य र जनसेवा सामुदायिक अस्पताल सञ्चालन तथा ब्यवस्थापन समिति अध्यक्ष ध्रुव श्रेष्ठबीच गरिएको सम्झौतामा उल्लेख छ ।
यस्तै, एक करोड ५० लाख बढि मूल्य पर्ने औजार, उपकरण तथा अन्य सामग्री, फार्मेसीमा मौज्दात करिव ८ लाख बढि मूल्य बराबरको औषधी, चस्मा लगायतका सम्पत्ती नगरपालिकालाई हस्तान्तरण गरिएको जनसेवाले जनाएको छ । अस्पताल नगरलाई हस्तान्तरण गरे पनि सञ्चालन र ब्यवस्थापनका लागि नगरपालिकालाई आवश्यक सहयोग रहने सम्झौता गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

अस्पताल सञ्चालनका लागि नगरपालिकाले थप मेडिकल अधिकृति सहितको आवश्यक कर्मचारीको ब्यवस्था गर्ने, स्वास्थ्यचौकी र जनसेवा सामुदायिक अस्पतालले प्रवाह गर्दै आएको सेवा एकिकृत रुपमा सञ्चालन गर्ने, जनसेवा सामुदायिक अस्पतालबाट प्रवाह हुँदै आएको जनसेवा ग्रामिण आँखा क्लिनिक तथा दाँत उपचार सेवालाई निरन्तरता दिने लगायतका सम्झौता गरेको छ ।
नगर अस्पताल पूर्व सांसद टंक राई, मेयर भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरेका थिए । समुदायबाट नगरको स्वामित्वमा लगिएको अस्पताल भावी दिनमा ‘कसरी अघि बढ्छ’ भन्ने विषयलाई सवैले चासोका साथ हेरिरहेका छन् ।