बुधवार, बैशाख १९ २०८१
नेपाल वाइड
खोटाङ, १९ बैसाख । खोटाङमा पहिचानको आन्दोलनका क्रममा पक्राउ परेर छुटेका पुर्व मन्त्रि गोपाल किराती सहित पाँच जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले) ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा हिँडिरहेका बेला मध्यपहाडी राजमार्ग बन्द गराउने क्रममा गत मंसिर २६ गते पक्राउ परेर पुस १ गते रिहा भएका पुर्व मन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका सचिव उदिम चाम्लिङ र वाईसीएलका हलेसी तुवाचुङ नगर कमिटि इन्चार्ज विजय राई सम्मानित भएका हुन् ।
पहिचानको आन्दोलनका क्रममा पक्राउ परेर हप्ता दिन प्रहरीको हिरासतमा बिताएका पाँच पहिचानवादी नेतालाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले चौथो जिल्ला अधिबेसनको अवसरमा बुधबार सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद सचिवालय उप–महासचिव रामकृष्ण व्लोन तामाङले पहिचानवादी नेतालाई खादा ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् । पुर्वमन्त्री किराती कार्यक्रममा अनुपस्थित भएका कारण अन्य कार्यक्रमको अवसर पारेर सम्मान प्रदान गरिने आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा दोर्जी शेर्पाले बताए ।
सम्मानित हुनेमा राजेश हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, गन्धमान हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले, विजय हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र उदिम रावाबेँसी गाउँपालिका–२ खार्पाका हुन् ।
पहिचानको आन्दोलनमा खट्ने क्रममा प्रहरीको हिरासतसम्म पुगेर पहिचानको आन्दोलनलाई मजबुद बनाउन खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ ।