Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा निरन्तर विद्यार्थी मूल्यांकन कार्यशाला

    दिक्तेलमा निरन्तर विद्यार्थी मूल्यांकन कार्यशाला


    • सोमवार, बैशाख १७ २०८१

    • नेपाल वाइड


    दिक्तेलमा निरन्तर विद्यार्थी मूल्यांकन कार्यशाला

    खोटाङ, १७ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निरन्तर विद्यार्थी मूल्यांकन कार्यशाला आयोजना गरेको छ । निरन्तर विद्यार्थी मूल्यांकनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि नगरपालिकाले १५ वटै वडाका सामुदायीक विद्यालयका शिक्षकलाई सहभागी गराएर आइतबार कार्यशाला गरेको हो ।

    नगरपालिकाले शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरेको शिक्षा सुधार कार्यदलको प्रस्तावमा आधारभुत तह (कक्षा १ देखि कक्षा ३) को निरन्तर विद्यार्थी मूल्यांकन कार्यशाला आयोजना गरिएको हो । शिक्षकले निरन्तर विद्यार्थी मूल्यांकन गर्नुपर्ने व्यवस्था भए पनि नगरेको नपाइएपछि निरन्तर विद्यार्थी मूल्यांकन कार्यशाला आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    शुभम फाउण्डेसनमा आयोजित कार्यशालामा नगरका ९३ सामुदायीक विद्यालयका शिक्षकलाई सहभागी गराइएको थियो । त्यसमध्ये ८० विद्यालयका शिक्षक कार्यशालामा सहभागी भएका थिए । शिक्षकलाई दुई समुह बनाएर कार्यशालामा सहभागी गराइएको नगरपालिकाले जनाएको छ ।

    मूल्याङ्कनका विविध साधनहरूको प्रयोग गरेर विद्यार्थीको दैनिक क्रियाकलाप, सिकाई उपलव्धी, ज्ञान, सीप लगायतलाई अभिलेखीकरण गर्दै पृष्ठपोषणको माध्यमबाट सुधारको अवसर दिने प्रकृया निरन्तर विद्यार्थी मूल्याङ्कन हो । निरन्तर विद्यार्थी मूल्याङ्कनमा विद्यार्थीलाई आत्ममूल्याङ्कन गर्न दिइन्छ, पृष्ठपोषण दिइन्छ सँगै विद्यार्थीले पूरा गर्न नसकेको सिकाइ क्षेत्रमा विशेष सहयोगको अवसर दिइन्छ । तर झन्झटिलो भएका कारण धेरैजसो शिक्षकले निरन्तर विद्यार्थी मूल्याङ्कनलाई प्रयोगमा ल्याउन सकेका छैनन् । त्यही भएर शिक्षकलाई निरन्तर विद्यार्थी मूल्यांकन गर्ने विधि, पोर्टफुलियो भरेर विद्यार्थीको चौतर्फी सीपहरु मापन गर्ने र कमजोरी सुधार गर्ने सीप विकासका लागि कार्यशाला आयोजना गरिएको नगरपालिकाद्धारा गठित शिक्षा सुधार कार्यदलका सदस्य कृष्ण बुढाथोकीले बताए ।

    training for CAS (ii).jpg

    कार्यशालामा शिक्षा मन्त्रालयका पुर्व उपसचिव भरत श्रेष्ठ, प्रअ लक्ष्मीप्रसाद खनाल, पदमकुमार राई लगायतले सहजीकरण गरेका थिए । बैसाख १४ र १५ गतेको स्थानीय पाठ्यक्रम परिमार्जन तथा सहजकर्ता उत्पादन कार्यशाला सकिए लगत्तै नगरपालिकाले निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यशाला आयोजना गरेको हो ।

    सम्बन्धित समाचार