आइतवार, बैशाख १६ २०८१
नेपाल वाइड
खोटाङ, १६ बैसाख । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले डढेलोबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ । गत बैसाख १४ गतेको डढेलोबाट घर जलेर विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका इन्द्रबहादुर थापा मगर, गोपालबहादुर थापा मगर, मदनकुमार थापा मगर, खगेन्द्र बिक, भेषणबहादुर राना मगर र झनबहादुर थापा मगरलाई राहत प्रदान गरेको हो ।
आइतबार घट्नास्थलमा पुगेर अग्नी पिडित परिवारलाई छुट्टाछुट्टै एक थान पाल, दुई थान कम्बल, एक थान म्याट्रेस, एक थान बाल्टी, एक–एक वटा भाँडा सेट, दुई थान साडी, ४ मिटर सुटिङ कपडा, ७ मिटर प्रिन्ट कपडा, ४ मिटर सादा कपडा, एक मुठा डोरी र एक थान बोरा प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिए । रेडक्रसले प्रजिअ शिवकुमार कार्की, सुरक्षा प्रमुख लगायतलाई लगेर राहत बाँडेको हो ।

यस्तै, डढेलोबाट विस्थापित परिवारलाई हलेसी तुवाचुङ नगरपालिकाले शनिबार एक–एक थान त्रिपाल र ब्ल्याङकेटको साथमा ३० केजीको एक–एक बोरा चामल प्रदान गरेको छ । यस्तै, वडा कार्यालयले जनही ३० केजी चामल, दुई केजी दाल, एक केजी चिनी, दुई केजी चिउरा, दुई केजी आलु, दुई पोका खाने तेल, एक पोका बेसार, दुई सय ग्राम मसला र एक–एक थान त्रिपाल प्रदान गरेको छ ।
गोठ जलेका योगबहादुर मगरलाई नगर र वडा कार्यालयले एक–एक थान त्रिपाल वितरण गरेको छ । डढेलो पिडितलाई मेयर बिमला राई र वडाध्यक्ष काशीराज राईले राहत हस्तान्तरण गरेका थिए । स्थानीय सल्लेपोखरी पाखा सामुदायीक वनमा लागेको डढेलो बस्तीमा छिर्दा सल्लेका ६ घर खरानी भएको थियो ।