आइतवार, बैशाख २ २०८१
नेपाल वाइड
खोटाङ, २ बैसाख । नेकपा एमाले खोटाङका नवनिर्वाचित अध्यक्ष देवबिक्रम राईले लगातार तीनपल्ट बैठकमा उपस्थित नहुने जिल्ला कमिटि सदस्यलाई पदबाट हटाइने बताएका छन् । आइतबार कार्यभार सम्हालेपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले जिल्ला कमिटिको बैठकमा लगातार तीन पटक अनुपस्थित हुने सदस्यलाई पदबाट हटाइने जानकारी दिएका हुन् ।
‘विगतभन्दा फरक के काम गर्नुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष राईले विभिन्न निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए । ‘पहिला अन्तरघात गर्नेलाई छुट दिइयो अव कारबाही हुन्छ,’ अध्यक्ष राईले भने, ‘उजुरी पर्यो भने छानविन हुन्छ र प्रमाणित भयो भने कारबाही हुन्छ । कसैले छुट पाउनेछैन ।’

उनले काठमाडौं बसेर बैठकमा उपस्थित हुने तर भूगोलमा बसेर काम नगर्ने नेता तथा कार्यकर्ताको अभिलेख तयार पारेर केन्द्रीय कमिटिमा पठाउने बताए । ‘जिम्मेवारी पुरा नगर्नेहरु । बैठकमा मात्र आउने तर भुगोलमा काम नगर्ने, काठमाडौं जाने र व्यापार व्यवसाय गर्नेलाई सक्रियतापुर्वक काममा खटाइनेछ,’ अध्यक्ष राईले भने, ‘र नेतादेखि कार्यकर्ताको कामको अभिलेख राखेर केन्द्रमा पठाइने छ ।’
अध्यक्ष राईले जिल्लाका १० वटै स्थानीय तहमा ‘आफै उठाउँ, आफै जिताउ’ अभियान सञ्चालन गर्ने जानकारी दिए । तल्लो कमिटिबाट भए सर्वसम्मत नभए निर्वाचनबाट एक जना उम्मेदवार मात्रको नाम सिफारिस गर्ने गराउने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिए ।
यस्तै, एमाले पार्टी कार्यालयमा स्थापना गरिएको मदन भण्डारी पुस्तकालयमा वर्षदिनभित्र पुस्तक जुटाइने जानकारी दिइएको छ । अध्यक्ष राईले पार्टीको नाममा रहेको १५ लाख ऋण तिरेर पार्टीलाई ऋणमुक्त बनाउने बताए ।
उनले अधिबेसनको निर्वाचनलाई विजय वा पराजयको रुपमा नभै एउटा प्रकृयाको रुपमा बुझिदिन आग्रह गरेका छन् । उनी चैत ३० गतेको निर्वाचनबाट तत्कालिन अध्यक्ष रामप्रसाद दंगाललाई पराजित गर्दै एमाले जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित भएका हुन् ।