शनिवार, बैशाख १ २०८१
नेपाल वाइड
खोटाङ, १ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले सिस्नेरी निवासी पुर्व प्रहरी सहायक निरिक्षक ईश्वरप्रसाद बन्जाराले विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका छन् । २०७९ फागुनमा प्रहरी सहायक निरिक्षकबाट पेन्सनमा निस्किएका बन्जाराले आफ्नो गाउँपालिकाभरीका ३४ वटा विद्यालयलाई एक–एक थानका दरले प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका हुन् ।
शनिबार नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीलाई एक थान प्राथमिक उपचार बक्स हस्तान्तरण गर्दै बन्जाराले गाउँपालिकाभरीका सामुदायीक विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने जानकारी दिएका छन् ।
विद्यार्थीलाई आकस्मिक चोटपटक लागेको बेला तत्काल प्राथमिक उपचार गर्ने व्यवस्थाका लागि आफ्नै खर्चमा विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्न लागेको बन्जाराले बताए । मासिक पेन्सनमध्येबाट बन्जाराले सिटामोल, बेटाडिन, ग्लोभ्स, कटन, एमजिट, व्यान्डेज, ह्याण्डीप्लाष्ट, जीवनजल लगायतका स्वास्थ्य सामग्री सहितको प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका हुन् ।
प्राथमिक उपचार बक्स वितरणसँगै विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गर्ने बन्जाराले जानकारी दिए । उनी हाल नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) केन्द्रिय सदस्य छन् ।
तीन दर्जन असहायको घाउमा बन्जाराको मल्हम
पेन्सन अवधि पुगे लगत्तै जागीरबाट निस्किएपछि गाउँ फर्किएका बन्जाराले असहाय, अनाथ र विपन्न परिवारका बिरामीलाई सहयोग गर्दैआएका छन् । ट्राफिक प्रहरीछँदा विभिन्न निकायको सहयोगमा भवन बनाउने, युनिफर्ममा बेल्चा चलाएर सडकको खाल्डाखुल्डी पुरेर चर्चा कमाएका बन्जाराले मासिक पेन्सनको १० प्रतिशत रकम सामाजिक सेवाको काममा खर्च गर्दैआएका छन् ।
त्यसबाट हालसम्म तीन दर्जन अनाथ, असहाय र बिरामीलाई सहयोग गरिसकेको बन्जारा बताउँछन् । केही समय अघि मात्रै उनले क्यान्सर पिडित सुखमान राई, मोटर साईकल दुर्घटनामा घाईते भएका अनिश राई, क्यान्सर पिडित मिना वुढाथोकी, खोटाङका बिरामी डुकेन्द्र श्रेष्ठलाई सहयोग गरेका छन् ।
यस्तै, केही समयअघि ‘लक्ष्मीकुमारी मगर बचाउ’ अभियानमा जोडिएर ६ लाख ५१ हजार ७२९ रुपैयाँ संकलन गरी हस्तान्तरण गरेका थिए । यस्तै, कुमारीपाटीबाट सातदोबाटो जाने क्रममा खुट्टामा चोट लागेर छट्पटाई रहेको अवस्थामा एक बृद्धलाई उद्धार गरेर अस्पताल पुर्याएका थिए ।
सहयोगको याचना गरिरहेका बृद्धलाई पाटन अस्पताल लगेर निःशुल्क उपचार गराएको बन्जारा बताउँछन् । ‘विरामीको उपचारका क्रममा अस्पतालले संरक्षकको खोजी गरेपछि वृद्धलाई आमा आश्रम डोलेश्वर भक्तपुरलाई खबर गरी जिम्मा लगाएँ,’ बन्जाराले भने, ‘त्यसअघि तीन जना वेसाहारालाई लगनखेलबाट उद्धार गरि आमा आश्रम पठाएको थिएँ ।’