शुक्रवार, चैत्र ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० चैत । नेकपा एमाले खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बुधबार उद्घाटन भएको एमालेको आठौं अधिबेसनमा सहमती नजुट्दा शुक्रबार बिहान साँढे नौ बजेदेखि मतदान सुरु भएको हो । हाल दिक्तेलको माटिकोरेस्थित कबर्डहलमा मतदान जारी छ ।
एमालेको अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई चुनावी मैदानमा उत्रिएका छन् । उपाध्यक्षमा उपिनकुमार राई र कुमार आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध चयन भएका छन् ।
एक जना उपसचिवका लागि सात जनाले मनोनयन दर्ता गरेका छन् । उपसचिवका लागि कमल ढकाल, गीरेन्द्रबहादुर राई, गोपिकृष्ण खड्का, चक्रबहादुर राई (दिलचक्र), दिनेशकुमार राई, राजनकुमार बञ्जरा र युवराज रिजाल उठेका छन् । गोपालचन्द्र आचार्यले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

महिला उपसचिवमा कविता राई र भगवती प्रधानको उम्मेदारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले जानकारी दिए । एमाले खोटाङको इतिहासमा नेतृत्व चयनका क्रममा पहिलोपल्ट निर्वाचन भएको हो ।

अधिबेसनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटि निर्माण हुनेछन् । सदस्य खुला क्षेत्रमा ५ जनाका लागि १८ जनाको मनोनयन दर्ता भएको छ । अधिकांश सदस्य निर्विरोध भएका छन् ।

यस्तै, ७ सदस्यीय लेखा कमिटि गठन हुनेछ । लेखा कमिटि अध्यक्षमा उमेश पौडेल, सचिवमा जोसेफ रिजाल र चार सदस्य निर्विरोध भइसकेका छन् । लेखा उपाध्यक्षमा नन्दकुमार तामाङ र निर्मला थापा आचार्यको उम्मेदवारी परेको छ ।
