Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दृष्टिबिहिन बिश्वकर्माले निकाले स्थायी शिक्षकमा नाम

    दृष्टिबिहिन बिश्वकर्माले निकाले स्थायी शिक्षकमा नाम


    • मंगलवार, चैत्र २७ २०८०

    • नेपाल वाइड


    दृष्टिबिहिन बिश्वकर्माले निकाले स्थायी शिक्षकमा नाम
    स्थायी शिक्षकमा नाम निकालेका भक्त बिक ।

    खोटाङ, २७ चैत । खोटाङका दृष्टिबिहिन भक्त बिश्वकर्माले शिक्षक सेवा आयोग उत्तिर्ण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय बिश्वकर्माले प्राशि स्थायीमा नाम निकालेका हुन् ।

    ८ वर्षको उमेरमा आँखाको ज्योती गुमाएका बिकले गत असोज १३ गते सञ्चालित आयोगको लिखित परीक्षामा कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिएका थिए । दोश्रो पेपरमा ११० जनाले परीक्षा दिएकामा ७८ जना उत्तिर्ण हुँदा बिकले ४९ औं नम्बरमा नाम निकालेका हुन् ।

    शिक्षक सेवा आयोगबाट प्राशि तह स्थायीमा नाम निकालेका बिश्वकर्माले सोमबार शिक्षा विकास तथा समन्वय समिति खोटाङबाट नियुक्ती लिएका छन् । उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका कुनै एक विद्यालयमा शिक्षकको रुपमा खटिने छन् । पहिलोपल्ट शिक्षक सेवा आयोग दिएका बिकले एकैसाथ खुला, दलित र अपांग समुहतर्फ नाम निकालेका थिए ।

    गत जेठ २० गते पहिलो पेपर र असोज १३ गते लिखित परीक्षा दिएका बिकले फागुन २९ गतेको अन्तरवार्ता उत्तिर्ण गर्दै स्थायी शिक्षकमा नाम निकालेका हुन् । आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने बिकले बताए । “घरमा पुर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु,” बिकले भने, “जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूल लगायत देखाएर पढाउन सकिन्छ । मसँग ट्युसन पढाएको अनुभव पनि छ ।”

    आठ वर्षको उमेरमा भक्तको टाउकोमा पिलो आएको थियो । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नशा बिग्रेका कारण ज्योती गुमाउनु परेको बिक बताउँछन् ।

    इपिएममा स्नातकोत्तर अध्ययनरत बिक दुई वर्षअघिदेखि दिक्तेल इंलिस बोर्डिङ स्कुलमा संगीत शिक्षकका रुपमा कार्यरत छन् । २०७१ सालदेखि संगीतमा लागेका बिकले साईनो कला केन्द्र, खोटाङका अध्यक्षको जिम्मेवारी पनि सम्हालीरहेका छन् । उनका ६ वटा गीत रेकर्ड छन् ।

    सम्बन्धित समाचार