सोमवार, चैत्र २६ २०८०
नेपाल वाइड
खोटाङ, २६ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित जनजागृति माविले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) मार्फत नतिजा प्रकाशन गरेको छ । जनजागृति माविले केही समयअघि मात्र शिक्षा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत कक्षा १ देखि कक्षा ९ सम्मको नजिता प्रकाशन गरेको हो ।
धेरैजसो विद्यालयले आइईएमआइएस अद्यावधिक गर्न नसकिरहेकोबेला जनजागृति माविले सोही सफ्टवेयर प्रयोग गरेर सोमबार वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आइईएमआइएसमार्फत विद्यार्थीको नाम, जन्म मिति, सिम्बोल नम्बर, आइईएमआइएस कोड, विद्यालयको नाम, शैक्षिक वर्ष, प्राप्त ग्रेड लगायत उल्लेख भएको ग्रेडसिट तयार पारिएको जनजागृति माविका प्रअ पदमकुमार राईले बताए । आइईएमआइएस प्रयोग गरिएको ग्रेडसिटलाई लगइन गरेर विभागबाट पनि हेर्न सकिन्छ ।

हिमाल, पहाड र तराईका छात्रछात्रा अध्ययनरत विद्यालयले पहिलोपल्ट आइईएमआइएसमार्फत नतिजा प्रकाशनसँगै पुरस्कार वितरण गरेको छ । कक्षा १ मा डोल्पाका टोपप्रसाद रोकाय प्रथम र खोटाङका सुभचन परियार दोश्रो, कक्षा २ मा गोरखाका शिवान गुरुङ प्रथम र खोटाङका एन्जल राई दोश्रो, कक्षा ३ मा दोलखाका सदिप थामी प्रथम, डोल्पाका अनिता बोहोरा र खोटाङका रोनिस राई दोश्रो, कक्षा ४ मा खोटाङका निर्भय कार्की प्रथम र धादिङका अशोक नेपाली दोश्रो भएका छन् ।
यस्तै, कक्षा ५ मा बाजुराको बेदन मिजार प्रथम, धादिङका तिलकुमारी नेपाली दोश्रो, कक्षा ६ मा मुगुकी दिकी लामु तामाङ प्रथम र मकवानपुरका अबिचल मसाई मगर दोश्रो, कक्षा ७ मा सिराहाकी आरतीकुमारी महतो प्रथम र मुगुकी पासाङ ल्हामु लामा दोश्रो, कक्षा ८ मा खोटाङको अनिश कार्की प्रथम, रुकुमका एञ्जल बिष्ट मगर र अनुसा वाग्ले दोश्रो, कक्षा ९ मा मुगुका बिवेक रावत प्रथम र गोरखाकी शिवानी गुरुङ दोश्रो भएको विद्यालयले जनाएको छ ।
यस्तै विभिन्न विभागका उत्कृष्ट १७ विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । सजावटमा लिलम राई, कृषिमा सविन लिम्बू, गाईवस्तु हेरचाहमा रोजन राई, टेक्नोलोजीमा अभिशेक राम, निर्माणमा बिकल राई, डायरी लेखनमा आरती महतो, हेण्डराइटिङमा पासाङ लामु तामाङ, साना उद्योगमा लोकेन्द्र ओली पुरस्कृत भएका छन् ।
यस्तै, सेवामा समीर घर्ती मगर, सरसफाईमा अस्मीता कार्की, अनुशासनमा बिकास बस्नेत, सक्रिय सहभागीतामा तिलकुमार नेपाली र आर्थिकमा अनिता राईले पुरस्कार पाएका छन् । छात्रातर्फ वर्ष उत्कृष्ट विद्यार्थी देबु बोहरा र छात्रतर्फ अबिरल पुन घोषित भएका छन् । यस्तै, इन्टेलीजेन्ट प्राईज बेदान मिजार र जुनियर च्याम्पीयन सदीप थामीले हात पारेका छन् ।
विभिन्न कक्षामा प्रथम र दोश्रो स्थान प्राप्त गर्ने, विभाग तथा तेक्वान्दोतर्फका उत्कृष्ट छात्र/छात्रालाई शुभम् फाउन्डेशनमा आयोजित कार्यक्रममा सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षक तथा स्वयंसेवी शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

२०४० सालमा स्थापना गरिएको जनजागृति माविले शुभम् फाउन्डेशनको सहयोगमा व्यवहारिक, उत्पादनमुखी र जीवनोपयोगी शिक्षाको अभ्यास गर्दैआएको छ । फाउण्डेसनसँग सहकार्य भए यता विद्यालयले ‘पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने’ अभ्यास गर्दैआएको छ ।
कक्षा ५ सम्म पढाइ भइरहेको अवस्थामा तीन जना मात्रै विद्यार्थी बाँकी रहेपछि २०७१ सालमा अर्को विद्यालयमा मर्ज गर्ने प्रकृया अघि बढेपछि अभिभावकको आग्रहमा फाउण्डेसनले जनजागृति विद्यालय सञ्चालन गर्ने जिम्मा लिएको हो । फाउण्डेसनको व्यवस्थापनमा जनजागृतिलाई आवासिय विद्यालयका रुपमा विकास गरिएको छ ।